• ८ मंसिर २०८१, शनिबार

यस वर्ष हिउँदमा कम पानी पर्‍यो

blog

काठमाडौं, फागुन ११ गते । यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।

जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा यसले निम्त्याउने असर धेरै हुने विज्ञको भनाइ छ ।

मौसमविज्ञान विभागका वरिष्ठ माैसमविद् विभूति पोखरेल पश्चिमी वायुको प्रभाव निकै कम रहेकाले आँकलन गरिएअनुसार हिउँद याममा पानी पर्न नसकेको हो ।

उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभाव निकै कम रहेकाले यो वर्ष आँकलन गरेअनुसार पानी पर्न सकेन ।”

पश्चिमी वायु आइरहे पनि सक्रिय नभएका कारण अपेक्षा गरेअनुसार पानी पर्न नसकेको उहाँको भनाइ छ । पछिल्लो पाँच वर्षलाई हेर्ने हो भने हिउँदयाममा पानी पर्ने क्रम निरन्तर घट्दै गएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पछिल्लो पाँच वर्षको हिउँदयाममा पानी पर्ने तथ्याङ्क हेर्ने हो भने निरन्तर घट्दै गएको देखिन्छ, एक पटक विश्वव्यापी रुपमा यसको अध्ययन गर्नुपर्ने आवश्यक छ ।”

हिमाली क्षेत्रमा मौसमसम्बन्धी जानकारी दिने प्रविधि पर्याप्त नहुनु र हिमाली क्षेत्रमा पर्याप्त अध्ययन अनुसन्धान पनि नहुनुले पूर्वानुमान गर्न नै समस्या हुनेगरेको उहाँले बताउनुभयो । 

साधारणतय हिउँदयाममा औसत ६० मिलिमिटर पानी पर्छ । तर यसवर्ष भने ३०  मिलिमिटरको हाराहारीमा मात्र पानी परेको छ ।

पछिल्लो वर्षमा हिउँदयाम कटेपछि मात्र पानी बढी पर्ने गरेकाले यस वर्ष पनि प्रि मनसुनमा केही धेरै पानी पर्ने आँकलन गर्न सकिने उहाँको भनाइ छ ।

गत वर्ष र यस वर्ष हिउँदयाममा आँकलन गरेअनुसारको पानी नपर्दा अर्को वर्ष पनि कम पानी पर्छ भन्ने आँकलन गर्न नसकिने उहाँ बताउनुहुन्छ ।
मौसमविद् पोखरेलले भन्नुभयो, “पछिल्ला वर्ष हिउँदमा कम पानी पर्‍याे भन्दैमा आगामी वर्ष पनि कम पानी पर्छ भन्न सकिँदैन । आगामी वर्ष धेरै पानी पर्न पनि सक्छ ।”

पर्यावरणीय क्षेत्रमा समेत असर
वातावरणविज्ञ सनोत अधिकारीका अनुसार पछिल्ला केही वर्ष हिउँदयाममा पानी पर्ने ट्रेण्ड विस्तारै सुस्ताउँदै जाँदा पर्यावरणीय क्षेत्रमा नै असर पर्ने गरेको छ ।

उहाँले भन्नुभयो, “हिउँदयाममा पर्याप्त मात्रामा पानी नपर्दा यसले पर्यावरणीय क्षेत्रमा नै असर पुर्‍याउँछ । पर्याप्त मात्रामा हिउँ नपर्दा पानीका मुहानहरु पनि सुक्दै जाने खतरा हन्छ । ”

हिउँदमा पानी पर्दा बोटबिरुवाको प्रजनन क्षमता पनि बढ्छ । जसका कारण देशको कुल ग्राहस्थ उत्पादनमा नै सकारात्कम प्रभाव पर्दछ । तर पछिल्लो पाँच वर्षको हिउँदे वर्षाको तथ्याङ्क हेर्दा यसले देशकै कृषि क्षेत्रको उत्पादनमा पनि असर गरिरहेको उहाँको भनाइ छ ।

काठमाडौं जस्ता सहरहरुमा हावामा हुने धुलोका कणहरु खसाल्न पानी आवश्यक भएकाले हिउँदमा पानी नपर्दा वातावरण नै प्रदूषित भइरहेको उहाँ बताउनुहुन्छ ।

हिमाल आरोहणका लागि आउने पर्यटकहरु मार्च महिनामा हिमपात हुँदा हिमाल आरोहण नै नगरी फर्कदा राज्यलाई नै आर्थिक घाटा भएको उहाँको भनाइ छ ।

धेरै निकायबाट अध्ययन हुनुपर्छ
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का पूर्व उपकुलपछि सुनिलबाबु श्रेष्ठका अनुसार जलवायु परिवर्तनको बारेमा धेरै निकायहरुको अध्ययन जरुरी छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका बारेमा सम्बन्धी निकायहरुको अध्ययन आवश्यक छ । धेरैको अध्ययनलाई एकत्रित गरेर निष्कर्ष निकाल्दा खास कुरा आउँछ ।”

आफू सेवामा रहँदा पनि नाष्टबाट मौसमका बारेमा अध्ययन अनुसन्धानको प्रयास गरिए पनि त्यो सफल हुन नसकेको उहाँको भनाइ छ । तर यसको विषयमा मौसमविज्ञान विभाग बाहेकका प्रविधिगत संस्थाको पनि अध्ययन हुनु आवश्यक छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।