बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), चैत २५ गते । कञ्चनपुरस्थित सरकारी कार्यालय बिचौलियालाई निषेध गरिएपछि सेवा प्रवाहमा सहजता भएको छ ।जिल्लास्थित सरकारी कार्यालयले सूचना जारी गर्दै
बिचौलियालाई निषेध गरेपछि सेवाले विगतको तुलनामा सेवा प्रवाह छिटोछरितो बन्दै गएको बताएका छन् ।
लाइसेन्स नवीकरण गर्न यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा पुग्नुभएका भीमदत्त नगरपालिका–२ महुलियाका विन्दु ऐरले सेवा प्रवाहमा विगतका तुलनामा सहजता महसुस गरिएको बताउनुभयो ।
विगतमा बिचौलियाहरू गेटमै आएर हैरानी दिने गरेकोमा हाल भने सजिलै ढङ्गले यातायात कार्यालयबाट काम भएको उहाँले बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरका निमित्त प्रमुख रवीन्द्र चौधरीले सङ्घीय सरकारको परिपत्र अनुरूप यस कार्यालयमा पनि अनधिकृत रूपमा प्रवेश गर्ने बिचौलियालाई प्रवेश निषेध गरिएको बताउनुभयो । सेवाग्राहीलाई सकेसम्म सहज तरिकारले सेवा प्रवाहको वातावरण सिर्जना गर्दै लगिएको उहाँको भनाइ छ ।
महेन्द्रनगरस्थित नापी कार्यालयले पनि सेवाग्राहीको सहजताका लागि अनधिकृत व्यक्तिको प्रवेशमा निषेध गरिएको जनाएको छ । कार्यालयका प्रमुख जनकराज भट्टले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएसँगै कार्यालयका कर्मचारीहरू बिहानै कार्यालयमा आएर सेवा प्रदान गर्दै आएको बताउनुभयो । यसका साथै बिचौलिया अनधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाइएको उहाँले बताउनुभयो ।
बिहान ९ बजे कार्यालय खुल्ने जानकारीपछि भीमदत्त नगरपालिका–३ बाट बिहानै ९:१५ बजे नापी कार्यालय पुग्नुभएका स्थानीय जयबहादुर सुनारले विगतका भन्दा कार्यालयले प्रदान गर्ने सेवामा केही सहजता महसुस गरिएको बताउनुभयो । सुरुवाती चरणमा मात्र नभई आगामी दिनमा पनि सेवा प्रवाहलाई सहज बनाउँदै लान उहाँले आग्रह गर्नुभयो ।
जिल्लास्थित अन्य सरकारी कार्यालयले पनि सूचना जारी गर्दै सेवा प्रवाहलाई छिटोछरितो, गुणस्तरीय तथा पारदर्शी बनाउन तत्पर रहेको जनाएका छन् ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत हरि आचार्यले सम्भव भएसम्म कार्यालयबाट प्राप्त हुने सेवा स्वयम् उपस्थित भएर लिनुहुन करदातालाई आग्रह गर्नुभयो ।
करसम्बन्धी सेवालाई अझ व्यवस्थित, छिटोछरितो, मर्यादित तथा पारदर्शी बनाउन आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो ।
मङ्गलबार बिहान भूमिसुधार तथा मालपोत कार्यालय, यातायात कार्यालय, नापी कार्यालय सुनसान थिए । सुरुवाती दिनुभएकाले पनि सबै सेवाग्राहीलाई जानकारी नभएको हुन सक्ने नापी कार्यालयका प्रमुख भट्ट बताउनुहुन्छ ।
कार्यालयमा अनुगमन
यसैबिच मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारको निर्णय पालना भए/नभएको विषयमा जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशानुरूप यातायात व्यवस्था कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, महाकाली आयुर्वेद औषधालय, मालपोत कार्यालय तथा नापी कार्यालयमा छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धर्मराज उपाध्यायले बताउनुभयो ।बिहान ९ बजे ती कार्यालयमा गरिएको छड्के अनुगमनका क्रममा कर्मचारी समयमै कार्यालयमा उपस्थित भएको पाइएको उहाँले बताउनुभयो ।
तर सबै कर्मचारी समयमै हाजिर भए/नभएको विषयमा बुझ्नका लागि कार्यालयका हाजिरी रजिस्टर मागिएको उहाँले बताउनुभयो । सबै सरकारी कार्यालयलाई सहजतापूर्ण तरिकारले सेवा प्रवाह गर्न आग्रह गरिएको उपाध्यायले बताउनुभयो ।