• २५ चैत २०८२, बुधबार

गृहको मूल्याङ्कनमा मनाङ उत्कृष्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २५ गते । गृह मन्त्रालयको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । त्यसै गरी कार्यसम्पादन मूल्याङ्कनमा मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ जिल्ला सबैभन्दा कमजोर देखिएको हो । 

मन्त्रालयले गरेको गत कात्तिक, मङ्सिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा कुल पूर्णाङ्क २०.२५ मा सबैभन्दा धेरै १९.५ अङ्क प्राप्त गरी मनाङ जिल्ला उत्कृष्ट भएको हो । त्यसै गरी काठमाडौँ जिल्लाले सोही अवधिको त्यही पूर्णाङ्कमा सबैभन्दा कम मात्र तीन अङ्क प्राप्त गरी कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको गृह मन्त्रालयले जनाएको छ । मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल र काठमाडौँको प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याल कार्यरत हुनुहुन्छ ।

त्यसै गरी कार्यसम्पादन मूल्याङ्कनमा १९.३७५ अङ्क प्राप्त गरी नुवाकोट दोस्रो, १९.२५ अङ्क प्राप्त गरी डोटी तेस्रो र १९.२५ अङ्क प्राप्त गरी पर्वत चौथो स्थान प्राप्त गर्न सफल भएको हो । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’ हरू निर्धारण गरी त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयहरूको त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हरेक जिल्ला प्रशासन कार्यालयलाई तोकिएको काम, कर्तव्य र जिम्मेवारीको कार्यसम्पदान मूल्याङ्कनका आधारमा उनीहरूलाई अङ्क प्रदान गरी उत्कृष्ट जिल्ला छनोट गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनका लागि शान्ति सुरक्षा, सुव्यवस्था, सेवा प्रवाह, विकास व्यवस्थापन, मुद्दा फस्र्योटलगायत विषयका लागि गृह मन्त्रालयले सूचक निर्धारण गरेको छ । सो अवधिमा ती सूचकको कार्यसम्पादन, त्यसले गरेको प्रतिवेदनका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अङ्क प्राप्त गर्ने हो । त्यही प्राप्ताङ्कका आधारमा ‘गे्रडिङ’ गरेर उत्कृष्ट जिल्ला छनोट गरिएको हो ।”