• २५ चैत २०८२, बुधबार

न्यून बजेटले निर्माणमा ढिलाइ

blog

मल्लगाउँमा अधुरो अवस्थामा रहेको निर्माणाधीन ग्वाङखोला–मल्लगाउँ लिफ्ट खानेपानी योजना । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत २५ गते । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–४, मल्लागाउँमा तीन वर्षदेखि निर्माणाधीन ग्वाङ्खोला–मल्लगाउँ लिफ्ट खानेपानी योजना कहिले पूरा भन्नेमा उपभोक्ता अन्योलमा छन् । बर्सेनि आउने न्यून बजेटले दुई करोड रुपियाँभन्दा माथिको निर्माण लागत रहेको यो बहुबर्से खानेपानी योजना कहिले बन्छ भन्नेमा उपभोक्ता ढुक्क हुन सकेका छैनन् । 

“यस वर्ष नौ लाख रुपियाँ बजेट आएको र काम सुरु गर्न सम्झौताको तयारी भइरहेको छ,” मल्लगाउँ टोल विकास संस्था (योजना उपभोक्ता समिति) अध्यक्ष रेसमबहादुर पोखरेल भन्नुहुन्छ, “योजनाको कार्यान्वयन खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप फिल्ड कार्यालय सिन्धुलीले गरेको छ । योजना सम्झौता गर्न यस वर्ष मात्रै कार्यालयमा चार पटकभन्दा बढी गइसक्यौँ, विविध कारणले सम्बन्धित अधिकारीसँग भेट हुन पाएनौँ ।”

योजना निर्माणमा हालसम्म ३५ लाख रुपियाँ खर्च भइसकेको छ । ‘एक घर एक धारा’ योजना अन्तर्गत यो योजनाको डिपिआर बनेको हो । योजना निर्माण पूरा हुँदा १०७ घरपरिवारलाई खानेपानी सुविधा उपलब्ध हुने छ । फिक्कल गाउँपालिका–३ मा सञ्चालित चनौटे–गिनीचौर खानेपानी योजनाको अवस्था पनि उस्तै छ । सङ्घीय सरकारको सहयोगमा सञ्चालित बहुवर्षीय उक्त योजना पनि चार वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । उक्त योजनाका लागि गत वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन भए पनि यस वर्ष बजेट नै नआएको योजना उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर कार्कीको गुनासो छ । 

“चनौटे–गिनीचौर खानेपानी योजना पूरै वडाका बासिन्दालाई खानेपानी खुवाउने गरी सञ्चालित योजना हो,” उहाँले भन्नुभयो, “योजनाको काम खण्ड खण्डमा भइरहेको छ तर बर्सेनि आउने न्यून बजेटले काम नै देखिँदैन । झगरे–खुरहरी खण्डको काम पनि अधुरो छ ।” योजना स्वीकृत भएको १२ वर्ष जति भएको र अहिलेसम्म पाँच वटा खण्डको काम सकिएको उहाँले जानकारी दिनुभयो । कार्कीका अनुसार बर्सेनि आउने न्यून बजेटले निर्माण सम्पन्न हुनेमा ढुक्क हुन सकेका छैनौँ । योजना सम्पन्न हुँदा सो वडाका पाँच सयभन्दा बढी घरधुरीले खानेपानी सुविधा पाउने छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप, फिल्ड कार्यालय सिन्धुलीका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा १०१ वटा खानेपानी योजना निर्माणका लागि स्वीकृत भई कार्यान्वयनको चरणमा रहेका छन् । तीमध्ये ७० वटा योजना स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएका हुन् । कुल योजना मध्ये ९७ वटा योजना यो वर्ष निर्माण पूरा हुने र बाँकी चार वटा योजना बहुबर्से रहेको कार्यालय प्रमुख अजयकुमार यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ती योजना कार्यान्वयनका लागि यस वर्ष प्रदेश सरकारबाट १३ करोड रुपियाँ बजेट स्वीकृत भएको छ तर योजना धेरै, बजेट न्यून हुँदा समयमा सम्पन्न गर्न कठिन भएको छ । धेरै योजना अधुरो रहन्छ ।” यस वर्ष कार्यान्वयन हुने योजनामध्ये नौ लाख रुपियाँका योजनाको सङ्ख्या ९० प्रतिशत रहेको उहाँको भनाइ छ ।