तिलाचन पाण्डे
तम्घास(गुल्मी), चैत २५ गते । कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् । बर्सायामको समयमा खोलामा पुल नुहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका सवारी र यात्रुहरुलाई अब राहत मिल्ने भएको छ ।
कालीगण्डकी करिडोर, गौँडाकोट, राम्दी मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार गुल्मी खण्डमा बडहरे खोला, दिहिङखोला, बौदी खोला, हास्मादीखोला, बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल बन्ने भएका छन् । गुल्मीसँगै बाग्लुङ खण्डको दुई र पाल्पा खण्डको एक गरी कुल १० वटा पुल निर्माण गर्न लागिएको हो ।
यस्तै, कालीगण्डकी लोकमार्ग स्याङ्जा, पर्वत खण्डमा चार वटा पक्की पुल बन्ने भएका छन् । कार्यालयको कार्यक्षेत्रअन्तर्गत रहेर आगामी आर्थिक वर्षमा १४ वटा पुलको निर्माण कार्य अगाडि बढाउने गरी बजेटको माग गरिएको कार्यालयले जनाएको छ । उक्त १४ वटा पुल सम्पन्न गर्नका लागि ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
पुलको डिजाइन सम्पन्न गरी बहुवर्षीय ठेक्काका लागि बजेटको ब्यबस्थापन गर्नका लागि विभागमा लेखी पठाएको उहाँको भनाइ । उक्त खोलामा आवस्यकता अनुसार १५ देखि ४० मिटर सम्मकाको लम्वाई रहेका पुलहरु बन्नेछन् भने सबै पुलको चौडाइ भने ११ मिटरको रहने तेलीले बताउनुभयो । दैनिक बुटवल पुर्तिघाट सवारी चलाउने चालक रामु पाण्डेले करिडोरका खोलामा पुल नहुँदा बर्सायामको समयमा जोखिम मोलेरै यात्रा गर्न आफूहरु बाध्य भएको बताउनुभयो । खोलामा पुल नहुँदा सवारी र यात्रुहरुको ज्यानसँगै आफू पनि जोखिममै रहेर यात्रा गर्न असहज हुने गरेको उहाँको भनाइ छ ।
कालीगण्डकी करिडोरअन्तर्गतको २४० किलो मिटर सडकमध्ये राम्दी रानीमहल सडक खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त सडक खण्डको काम भइरहेकाले आगामी आर्थिक वर्षमा काम सम्पन्न हुने लक्ष्य लिएको तेलीले बताउनुभयो । यस्तै सोही कार्यालयले हेर्ने गरी कालीगण्डकी लोकमार्गको मिर्मी सेतीवेणी फलेबास अर्मादी खण्डको ५३ किलोमिटर सडकको पनि काम द्रुत गतिमा भइरहेको उहाँले बताउनुभयो ।