• १३ पुस २०८१, शनिबार

साहुजीको उमेर [प्रेम कथा]

blog

वसन्तपुरमा मामाको चियापसल असाध्यै प्रसिद्ध रहेछ । तर मलाई भने थाहै थिएन । हुन त सबै प्रसिद्ध कुराका बारेमा जानकारी राख्नु पर्छ भन्ने कहाँ छ र ! यस मामिलामा म अलिक कमजोर पनि छु । सहरमा कतिपय कुरा छ्यापछ्याप्ती भइसकेको हुन्छ । तर मलाई भने ढिलो थाहा हुन्छ । 

ऊ नयाँ गायक । तर नयाँभन्दा पनि उसलाई सम्भावना भएको गायक मान्न सकिन्छ । उसको नाम अविनाश प्रजापति । एक दिन हामीबिच त्यही प्रसिद्ध चियापसलमा भेट्ने सल्लाह भयो । म गएँ । उसो त वसन्तपुर म गइरहेकै ठाउँ हो । तर भुइँचालोपछि भने पहिलोपल्ट गएकी थिएँ । वसन्तपुरको भग्न रूप देखेर साह्रै नरमाइलो लाग्यो । मैले मेरो प्रिय वसन्तपुर त्यसरी, उजाड र उराठलाग्दो होला भन्ने चिताएकी पनि थिइनँ । मेरो आँखाबाट तरक्क आँशु नै चुहेला झैँ पो भयो । निकैबेर टोलाएरै उभिरहेकी थिएँ । 

“ओ राइटर !” अविनाशले कानैनिर आएर बोलाउँदा म झस्किएँ । 

साउनको महिना । साँझको छ जति बजेको हुँदो हो । पानी सिमसिम परिरहेको थियो । छाता नभएका थुप्रै स्वदेशी तथा विदेशीहरू कुमारी घरमा उभिएर ओत लागिरहेका थिएँ । अविनाशलाई म ‘अवी’ मात्र भन्छु । ऊ भने मलाई ‘राइटर’ भन्छ । उसले राइटर भनेको त पक्कै सुहाउँछ । तर मलाई राइटरको उपमा सुहाउँछ या सुहाउँदैन थाहा छैन । तर उसले यस्तो सम्बोधन गरेको चाहिँ मलाई मन पर्छ । उसले मेरो नाम ‘उषा’ भनेको कहिले पनि सुनेकी छैन । 

मामाको चियापसल मुस्किलले चार जना अटाउने साँघुरो घर रहेछ । भुइँचालोले किस्ताबन्दीमा भत्काउन छाडे जस्तो लाग्ने । अग्लो मोटो शरीरका साहुजी । उमेर चाहिँ पछि भनुँला । त्यहाँ हेल्परका रूपमा दुई जना फुच्चे पनि थिए । 

“तिमीहरू पढ्न जाँदैनौँ ?,” अविनाशले एक जनासित सोध्यो । 

“जान्छु नि ! छ कक्षामा पढ्छु,” जसलाई सोधेको उसले जवाफ दिएन । तर ऊभन्दा सानो फुच्चेले जवाफ दियो । 

भित्रपट्टि एउटी आइमाई लुगा धोइरहेकी थिइन् ।

“कति वर्ष भयो मामा यो चियापसल ?,” मैले साहुजीसित सोधेँ ।

“यो पसल सुरु गर्दा म छयालिस वर्षको थिएँ । अब तपाईं आफैँ पत्ता लगाउनुस् ।,” उनले रोचक जवाफ दिए । 

अब उनले यो चियापसल चलाउन थालेको कति वर्ष भयो भनेर मैले कसरी पत्ता लगाउनु ? उसो त उनको उमेर पत्ता लगाएर मैले गर्ने नै के हो र तै पनि मन न हो । हिसाब किताब गर्न मन लागिहाल्यो ।

अन्दाज लगाएर सोधेँ, “यो पसल खोल्नुभएको बिस वर्ष त भयो होला ।” 

“मिलेन मिलेन नानी !” 

“कति त ?,” मैले आँखा नचाउँदै सोधेँ ।

“यहाँ चिया पिउन आउँदा प्रेम परेका जोडीहरू अहिले नातिनी लिएर आउँछन् ।”

मामा चिया गिलासमा खन्याउँदै थिए । एकछिन हात खाली नहुने रहेछ मामाको । 

मामाले हामीलाई बस्न थोत्रो गुन्द्री दिए । यो चिया पसलको उमेर कति वर्ष भयो भन्ने खुल्दुली त छँदै थियो, त्यसमाथि त्यो गुन्द्री कति पुरानो होला भन्ने थप खुल्दुली मनमा पैदा भयो । तर सोधिन मैले । मनमनै मामाको उमेर सत्तरी हाराहारी होला भन्ने अनुमान लगाएँ ।

मामाकी आमा चियाको अत्यन्त सौखिन । मामाले यो पसल आमाको चिया मोहकै कारण खोलेका रहेछन् भन्ने कुरा मैले अवीमार्फत थाहा पाएकी थिएँ । मामाको प्रेम विवाह भएको थियो रे । उनकी जहान धनी बाबुकी एक्ली छोरी थिइन् रे । मामा थिए गरिब । एक हिसाबले मामा र उनकी जहानको प्रेमकथा कुनै सिनेमाको कहानी जस्तै थियो । 

अँ ! प्रेमकथा त अविनाशले पनि सुनाएको थियो । उसको आफ्नै प्रेमकथा । कुसुमको प्रेमकथा ।

        ००

कुसुम, प्रत्येक लोग्नेमान्छेहरूप्रति घृणा गर्थिन् । मन नपर्नु अर्कै कुरा । तर उनलाई त पुरुषदेखि घृणानै थियो । त्यसैले उनले कुनै पनि लोग्नेमान्छेलाई मन पराउन नसक्ने भएकी थिइन् त्यो बेला । 

कुसुमलाई खुब सिनेमा हेर्नुपर्ने । कहिलेकाहीँ टिभीमा दिनकै चार पाँच वटा सिनेमा हेर्थिन् । तर कथा र उपन्यास पढ्नु चाहिँ उनको रुचिको सूचीको पहिलो नम्बरमा पथ्र्यो । टेलिभिजनमा उनको पहिलो रोजाइ ‘व्रmाइम प्रेटोल’ थियो । आफूलाई व्यस्त राख्न यति रुचि सायद पर्याप्त थिए । 

कुसुमको पूर्वप्रेमी निजामती कर्मचारी थियो । उसले अलि अलि कविता पनि लेख्थ्यो । कुसुम र ऊबिच एउटा असल पाठक र अर्को लेख्न रहर गर्ने बिचको सम्बन्ध थियो । कुसुम भन्थी, “प्रत्येक मान्छेलाई यहाँ लेखक बन्नु छ ।” 

उनको प्रेमी मुस्कुराउँथ्यो र भन्थ्यो, “तिम्रो वरिपरि लेखक धेरै छन् क्यारे । होइन भने लेखकको अलावा अरू थुप्रै कुराको पछिलागेका छन् यहाँ मान्छेहरू ।” 

कुसुम कोमल मनकी थिइन् । उनी भावनामा बग्न माहिर थिइन् । उनको बोली पनि मिठो थियो । एकदमै कर्णप्रिय । सुनिरहुँ जस्तो लाग्ने । उनको बोलीका थुप्रै प्रशंसक थिए । 

उनले आफ्नो पूर्वप्रेमीलाई पहिलो पटक हाँडीगाउँस्थित गहना पोखरीको क्याफेमा भेटेकी थिइन् । त्यहाँ भेट्नुभन्दा अगाडि फेसबुकमा छ वर्षदेखि प्रेमीजीको ‘हाई हेलो ! ‘हजुरको आवाज मन पर्छ ।’ जस्ता एकतर्फी म्यासेजहरू आइरहँदारहेछन् । प्रेमी महोदयलाई पहिलोपल्ट सशरीर भेटेर आएपछि उनलाई खुल्दुली भयो र उनले ती सबै म्यासेज एकएक गरेर हेरिन् । एक्लै मुस्कुराएकी पनि थिइन् । 

छ वर्षदेखि उनले रेस्पोन्स नगरेका अरू पनि थुप्रै मेसेज थिए । ती म्यासेजबाट उनी उतिबेला त प्रभावित भएकी थिइनन् भने अब किन हुन्थिन् र ! तर भइन् । चासो पनि बढ्यो । भेटेर आएपछि उनका लागि ती म्यासेज एकाएक महìवपूर्ण बने । त्यो बेवारिसे म्यासेजले मानौँ आफूलाई पढेर मुस्कुराइदिने कुशल वारिस भेट्यो ।

        ००

कुसुमले प्रेमलाई ब्रह्माण्ड ठान्थी । बिस्तारै उनीहरू वाइफाई र डिभाइस जस्तो एकअर्काका परिपूरक बने । बिस्तारै प्रेमी महोदय उनको आदत बने । एक खालको अपरिहार्य आदत, जसलाई कहिल्यै पनि फेरबदल गर्न सकिँदैन । 

उनीहरूबिचको प्रेम पाँच वर्ष गुलाफमय भएर बित्यो । पाँच वर्ष कम समय होइन नि ! बच्चा जन्माएकी भए स्कुल जाने भइसक्ने थियो । पाँच वर्षको दोहोरो मायाप्रेम एकाएक एकोहोरो मायामा परिणत भएको थियो । मायाको उपलब्धि के भयो ? त्यही समय कट्यो होइन ? साथीभाइसँग भेट हुँदा गफ गर्ने ‘टपिक’ भयो होइन ? भ्रम नै सही प्रेममा अनुभूत गरेका कुरालाई बेकामको भन्न पनि बिल्कुलै सक्दिन थिइन् कुसुम । नराम्रो लाग्थ्यो तर नराम्रो पनि मिठो लाग्ने, पर्खिरहुँ लाग्ने । यथार्थमा एउटा मान्छेले जे सोच्छ, आफ्नो तरिकाले, आफ्नो दृष्टिविन्दुबाट सोच्ने रहेछ । आफू अनुकूल धारणा बनाउँदो रहेछ । आफूलाई राम्रो लागेको मान्छेले गरेका व्यवहार राम्रो लाग्ने र नराम्रो लागेको मान्छे छ, त्यसले जे गरे पनि नराम्रै लाग्ने रहेछ । सबै मान्छे त्यस्ता नहोलान् । तर कुसुम यस्तै थिइन् । 

        ००

देख्नुभयो नि म राइटर महोदयलाई ? म आफू यस्तै छु भनेर सारा मान्छेको स्वभाव नै यस्तै हुन्छ भनेर लेखिरहेकी छु । खासमा यही हो मान्छेको असली स्वभाव । 

मेरो अनुभवमा चाहिँ, मान्छेहरूसँग मैले कति गहिरिएर सङ्गत गर्न सकँे, त्यो ममा मात्र भर पर्ने कुरा होइन । खासमा मैले सङ्गत गरेको अर्कोे मान्छेमा पनि भर पर्छ । मेरो ‘फलानो’ सँग नजिकको सम्बन्ध छ भनेर सोचुँला । तर ‘फलानो’ ले देखावटी सम्बन्ध पनि त निभाएको हुन सक्छ नि ! यस्तोमा कसरी आफूलाई सतर्क गराउन सकिन्छ ? जब कि आफूले आफ्नो ठानिसकेको मान्छेको बारे शङ्का पनि गर्न मन लाग्दैन । यसरी विश्वास कायम भइसकेपछि त हो नि कसैप्रति माया लाग्ने । माया लागिसकेपछि गाह्रो हुन्छ अविश्वास गर्न पनि । आफू गहिरिँदै गइन्छ । दोस्रो मान्छेले पनि आफू गहिराइमै छु जस्तो देखाइरहन्छ । यस्तोमा सत्य के हो र झुट के हो भनेर छुट्याउन गाह्रो हुन्छ । अनि त एक समय यस्तो पनि आइदिन्छ, मायामा हरेक झुट पनि सत्य लाग्न थाल्छ । एउटा प्रख्यात भनाइ छ नि– ‘प्रेम र युद्धमा सब जायज हुन्छ ।’ 

यसरी झुट हो जान्दा जान्दै पनि अघि बढ्छ सम्बन्ध । प्रेमीहरू भ्रममै पनि आनन्द मानिदिन्छन् । आफ्नो प्रेमलाई संसारकै उत्कृष्ट र आफूहरूलाई संसारकै उदाहरणीय जोडी ठान्छन् । जब अर्कोको मन भरिँदै जान्छ, अनि उसलाई कुनै कुराको मतलब हुँदैन । जन्म दिन आवस् या नयाँ वर्ष या दसैँतिहार पर्वाह गर्न छाड्छ । फुर्सद नभएर होला भनेर मन बुझाउन खप्पिस हुन्छन् नि प्रेमीहरू । व्रmमशः फोन उठ्न छाड्छ र भेटघाट पातलिँदै जान्छ । अनि खत्तम ! 

कति सजिलै एकले अर्कोलाई मूर्ख बनाउन सफल हुन्छन् त्यस्ता व्यक्तिहरू । यता अर्को मूर्ख मात्र बन्दैन, उसको मन दुख्छ । मुटु पोल्छ । उसले संसार अँध्यारो देख्न थाल्छ । आफू बसेको धरातल भासिँदै गएको अनुभूति गर्न थाल्छ । आफ्नो जिन्दगी बेअर्थको ठान्छ र अनि आफ्नो जिन्दगी समाप्त पनि गर्न पुग्छ । त्यसपछि त प्रेम एउटा भयङ्कर गल्ती जस्तो भइदिन्छ, जसको सजाय कसैले जीवनभरि भोगिरहनुपर्ने हुन सक्छ । 

०० 

कुसुमले ठिक यस्तै नियती भोगेकी थिइन् । के मात्र गरिनन् उनले ? चैत वैशाखमा हुरी पानी आएकै दिन, दिनभर पूर्वप्रेमीको अफिस अगाडि बसेर उसलाई कुरिरहिन् । ऊ आयो । तर कुसुमलाई नचिनेको जस्तो गरेर गयो । उसले कुसुमको फोन नम्बर पनि ब्लक गरेको थियो । 

“प्रेम प्राप्ति मात्र होइन । उसले इग्नोर मात्र नगरिदिए पनि पुग्थ्यो,” उनले भनेकी थिइन् । 

प्रेमी महोदयको बेवास्ता कुसुमले सहनै सकिनन् । 

“महिलाहरूको मन किन यति कोमल र कमजोर हुन्छ ? पुरुषहरूको मन के सिमेन्टले नै निर्मित हुन्छ ?”, उनी आफैँलाई सोध्थिन् ।

प्रेमले मान्छेलाई कतिसम्म निरीह बनाउँदो रहेछ । निरीह मात्र बनिनन् कुसुम, उनी त मर्न पनि तयार भएकी थिइन् । अविनाशले नै उनलाई सम्झाएको थियो, “मर्नु समस्याको समाधान होइन,” भनेर ।

 अविनाश र कुसुम एउटै कार्यालयमा कार्यरत थिए ।

सेतो घोडा चढेर आउने स्फटिक जस्तो चम्किलो सुकोमल कुनै राजकुमार पक्कै थिएन अविनाश । खासमा उसलाई युवतीहरूसित सङ्गत गर्न मनपथ्र्यो । सामान्य जागिरे केटो थियो । सौकिया गायक थियो । तर उसको व्यक्तित्वमा एउटा नजानिँदो आकर्षण भने थियो । त्यसैले त प्रेमले भताभुङ्ग पारेर फाँडिदिएको कुसुमको मनको प्रेमिल बगैँचामा अविनाश फेरि नयाँ माली बनेर प्रवेश गरेको थियो । ऊ मर्न तयार भएकी कुसुमका लागि प्राणवायु बनिदियो । पुरुषप्रति अथाह घृणा पालेर बसेकी कुसुमले फेरि अविनाशरूपी पुरुषलाई मन पराउन थालेकी थिइन् ।

००

चियापसलको गुन्द्रीमा बस्दा बस्दा मेरो बायाँ खुट्टा निदायो । म उठेँ । 

“राम्रो कुरा त सबैलाई राम्रो लाग्छ नि राइटर !,” अभिनाश बिन्दास भएर भन्दै थियो । 

मैले सोधेँ, “जस्तै ?” 

“जस्तो गुलाफ । जस्तो हरियाली पहाड । जस्तो झरना । जस्तो नदी । जस्तो इन्द्रेणी । जस्तो आकाश । जस्तो तिमी ।” 

बडो फिल्मी लाइन बोलेको थियो उसले । तर मिठो लाग्यो । बदलामा म मुस्कुराइदिएँ । 

काठमाडौँमा यो चियापसल मात्र एउटा यस्तो ठाउँ होला, जहाँ कसैले राजनीतिक गफ गरेको सुनिनँ मैले । समाज र देशको अर्थतन्त्रको यहाँ कसैले चिन्ता गरेको पनि सुनिनँ मैले । यहाँ यत्रतत्र, अरूसित पूरै बेपर्वाह भएर प्रेमी जोडीहरू आपसमा टाँस्सिएर बसिरहेका हुन्छन् । कोही चुपचाप । कोही अरूले नसुन्ने गरी खुसखुस आपसमा कुरा गरिरहेका हुन्छ । कोही एकअर्कालाई चुम्बन पनि गरिरहेका हुन्छन् । हामी त्यहाँ पुग्दा, सुरुप–सुरुप चिया पिएको आवाजमात्र सुनेका थियौँ ।

“बाइस वर्षदेखि यो पसलमा यस्तै आवाज सुनिन्छ,” पसले मामाजीले दार्शनिक पाराले भने ।

मैले उनको उमेर थाहा पाइहालेँ । अठसट्ठी वर्ष ! 

समाप्त