• ७ वैशाख २०८१, शुक्रबार

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा क्षयरोगको जोखिम बढी

blog

काठमाडौं, माघ २९ गते । नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ । 

डा.श्रेष्ठका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो ।  क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो ।

क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने डा.श्रेष्ठ बताउनुहुन्छ । क्षयरोगबाट ९० प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । अन्य अङ्गमा मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्ने उहाँ बताउनुहुन्छ । यो रोगले महिलाको डिम्बनलीमा असर गरेर बाँझोपन निम्त्याउने डा. श्रेष्ठ बताउनुहुन्छ । 

उच्च जोखिम समूह 

अस्वस्थ जीवनशैली तथा खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ । डा. श्रेष्ठका अनुसार कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्दछन् । 

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन । 

वार्षिक ६९ हजार बिरामी थपिने अनुमान

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा ६९ देखि ७० हजार क्षयरोगका नयाँ बिरामी थपिन्छन् । त्यस्तै १७ हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।  

उक्त सर्वेक्षणका अनुसार औषधी प्रतिरोध क्षयरोगको नयाँ बिरामी वार्षिक दुई हजार दुई सय रहेको अनुमान गरेको छ । आर्थिक वर्ष २०२०/०२१ मा लगभग २८ हजार क्षयरोगका बिरामी उपचारको दायरा आएका थिए । जुन सरकारले गरेको प्रक्षेपण भन्दा ४१ प्रतिशत मात्र हो । डा. श्रेष्ठका अनुसार नेपालमा नयाँ क्षयरोगका बिरामी हुने दर भौगोलिक क्षेत्र अनुसार फरक छ ।

रोगी मध्ये ६८ प्रतिशत बिरामी मधेश प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा छन् । क्षयरोगको भार तीन वटा प्रदेशमा बढी रहेको छ । क्षयरोगको जोखिम १५ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । पछिल्लो वर्षहरूमा वृद्धवृद्धामा पनि क्षयरोग देखिएको । 

क्षयरोग लागेका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधी सेवन गरेमा ९० प्रतिशत रोग निको हुने गर्छ । 

सन् २०२०/०२१ मा औषधी प्रतिरोधी क्षयरोगका ५०९ जना फेला पारेका थिए । केन्द्रले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन सकेको छैन । 

निःशुल्क निदान र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु र औषधीले काम गर्न छोड्दा क्षयरोग नियन्त्रणमा चुनौती थपिएको डा. श्रेष्ठको तर्क छ । 

सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा  क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ सेन्टरबाट ११३ स्वास्थ्य संस्थाबाट १३१ वटा मेशिन जडान गरी रोगी पत्ता लगाउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपालभरका छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधी निःशुल्क उपलब्ध छन् ।

केन्द्रले क्षयरोग मुक्त अभियानअन्तर्गत सबै स्थानीय तहबाटै रोग पत्ता लगाएर उपचार गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । हालसम्म कार्यक्रम ६६ वटा जिल्लाका एक सयवटा पालिका लागू गरिसकेको र आउने वर्षमा सबै स्थानीय पालिकामा लागू गर्ने योजना रहेको उहाँको भनाइ छ ।  

यदि सबै एकजुट भएर स्थानीय तहबाटै रोग पत्ता लगाएर उपचार गर्ने हो भने लक्ष्य भेटाउन सजिलो हुने उहाँको भनाइ छ । 

भिडियो : मनोरत्न शाही र केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।