काठमाडौँ, कात्तिक ८ गते । कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
इलाम जिल्लाको माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मी, प्रथम सचिव मुहम्मद हारुन रसिद र नेपाल–पाकिस्तान युवा परिषदका संयोजक ऋचुमणि लुइटेलले इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाममा प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको हो ।
त्यस अवसरमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एक नारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्षका साथै स्थानीयवासीको उपस्थिति थियो ।
कार्यक्रममा राजदूत हाश्मीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबिचको मित्रता र सहयोगको बलियो सम्बन्ध अब बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानका जनताको तर्फबाट प्रेमको प्रतीकको रूपमा प्रभावित परिवारलाई साहायता प्रदान गरिएको बताउँदै राहत प्रयासमा तीन तहकै सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।
राजदूत हाश्मीले इलाम जिल्लामा बाढीबाट प्रभावित योग्य विद्यार्थीलाई एमबिबिएस, बिडिएस र बी फार्मेसीअन्तर्गत चार छात्रवृत्ति प्रदान गरिने र उच्च माध्यमिक शिक्षाका लागि पनि पचास वटा छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नुभयो ।
त्यसअघि, राजदूतले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती भण्डारीसँग भेट गरी असोजको तेस्रो साताको बाढी पहिरोबाट दिवंगत व्यक्तिहरुप्रति पाकिस्तान सरकार र पाकिस्तानका जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।