जयकृष्ण यादव
इनरुवा, कात्तिक ८ गते । छठ पर्व सुरु भएसँगै सुनसरीको इनरुवासहित जिल्लाका स्थानीय बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको हो ।
छठ पर्वमा भगवान सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग सदमुकाम इनरुवासहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारीहरूले बताएका छन् । इनरुवासहित स्थानीय बबिया, रामनगरभुटाहा, जल्पापुर, हरिनगर, देवानगञ्ज, बर्जु, चिमडीका बजारमा केराको कारोबार बढेको छ ।
त्यसैगरी इटहरी, दुहबी नगरपालिका, रामधुनी, कोशी, भाण्टाबारीलगायतका मुख्य बजारदेखि ग्रामीण हाट बजारसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड बढेको छ । इनरुवाका केरा व्यापारी श्याम यादवले यस वर्ष व्यापारीहरूले भारत र अन्य जिल्लाबाट ठुलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताउनुभयो ।
गोदाममा पर्याप्त मात्रा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुने यादवले बताउनुभयो । तर केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ । इनरुवा नगरपालिकाका सम्भु यादवका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य करिब पाच सयदेखि १ हजार रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
व्यापारीहरूको भनाइमा सीमावर्ती बजारहरूबाट करिब एक करोड रुपियाँ बराबरको केरा आयात गरिएको छ । स्थानीय व्यापारीहरूले आइतबारसम्म केराको कारोबार बढ्ने अनुमान गरेका छन् ।