• २८ पुस २०८१, आइतबार

पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २३ गते । ओखलढुङ्गामा पर्यटन प्रवर्द्धनका लागि दोस्रो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाको सदरमुकाम बजार क्षेत्रमा साइकल दौड प्रतियोगिताको सम्पन्न गरिएको हो । 

प्रतियोगितामा देश तथा विदेशका ७५ जना प्रतियोगी सहभागी हुनुभएको ओखलढुङ्गा साइक्लिङ सङ्घका अध्यक्ष रामरत्न शाक्यले बताउनुभयो । प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा गराइएको सङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 

अर्बन डाउनहिल र क्रसकन्ट्रीमा इलिट पुरुष, इलिट महिला, मास्टर ए, बी र जुनियर विधामा साइकल दौड प्रतियोगिता गराइएको अध्यक्ष शाक्यको भनाइ छ । जिल्लाका विभिन्न स्थानहरूमा डाउनहिल र क्रसकन्ट्री विधाका साइक्लिङ प्रतियोगिता सञ्चालन गरी साहसिक स्वदेशी तथा विदेशी पर्यटक जिल्लामा भित्र्याउन सकिने आयोजक ओखलढुङ्गा साइक्लिङले जनाएको छ । 

विभिन्न विधाका विजेता उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद एवम् गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । सिद्धिचरण नगरपालिका वडा नं.११ र १२ को बजार क्षेत्र तथा भित्री बाटोमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।