• ९ मंसिर २०८१, आइतबार

रुस–युक्रेन युद्धका आयाम

blog

रुसबाट अमेरिकाले तेल आयात गरेको हालै प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने विश्व राजनीतिले कोल्टे फेर्ने सम्भावना बढेर गएको छ । सन् २०२३ अक्टोबरदेखि नै अमेरिकाले रुसबाट तेल आयात गरेको समाचार रुसको सबैभन्दा चर्चित पत्रिका ‘स्पुनिक’ ले सन् २०२४ को जनवरीमा सार्वजनिक गरेको छ । सो समाचार अनुसार अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको १७ महिनापछि रुसबाट नै उसले तेल आयात गरेको छ । यसले अमेरिकी रणनीतिको भित्री कुरा बुझ्न सहज हुने छ । अमेरिकाले रुसबाट तेल आयात किन गर्‍यो ? के अमेरिकाले युक्रेनको साथ छोडेको हो ? वा रुससँग अमेरिकाले कुनै गोप्य सम्झौता त गरेको छैन ? गम्भीर प्रश्न उब्जिएका छन् । 

आज सबैभन्दा ठुलो सङ्घर्ष तेलका लागि हुने गरेको छ । यो कालो सुन हो किनकि कच्चा तेल कालो हुन्छ र तेलबिना संसार ठप्प हुन्छ । जतिसुकै सोलार प्यानल बनाए पनि, जति परमाणु ऊर्जा उत्पादन गरे पनि संसार अहिले तेलबाटै चलिरहेको छ । तेलका लागि चल्ने सङ्घर्ष ठुलो र खतरनाक मानिन्छ । 

रुस–युक्रेन युद्ध सुरु भइसकेपछि ‘न्युयोर्क टाइम्स’ ले ‘वार इन युरोप’ शीर्षकमा एउटा ब्यानर समाचार प्रकाशित गरेको थियो । यो युद्धमा भएको खर्च पनि सोही पत्रिकाले तयार पारेको थियो । युद्धमा रुसको प्रतिदिन ५० करोडदेखि एक अर्ब डलरसम्म खर्च भइरहेको छ । यसको अर्थ हुन्छ कि रुसले वार्षिक ३५० अर्ब डलरसम्म खर्च बेहोरिरहेको छ । सन् २०२४ को फ्रेबुअरीमा युद्ध सुरु भएको दुई वर्ष भयो । त्यतिबेला अमेरिकाको आकलन थियो, रुस–युक्रेन युद्धले रुसको ग्यास र तेलमाथि सङ्कट आइलाग्ने छ । उसमाथि अमेरिकालगायत सिङ्गो युरोपद्वारा लगाइएको प्रतिबन्धले रुसले तेल र ग्यास बेच्न पाउने छैन र ऊ आफैँ घुँडा टेक्ने छ । तेल र ग्यास बेच्न नपाएपछि रुसमा पैसाको अभाव हुने छ र सङ्कटमा पर्ने छ । त्यही भएर अमेरिकासहित सिङ्गो युरोपले रुसी तेल, कोइला र ग्यास किन्न बन्द गरे । 

अमेरिकाले विश्वका देशलाई रुससँग तेल नकिन्न चेतावनी दियो । किन्न परे त्यसमा ‘प्राइस क्याप’ लगायो । अर्थात् प्रतिब्यारेल ६० डलरभन्दा कममा प्राप्त भए मात्रै तेल किन्न उर्दी जारी ग¥यो । त्यसपछि संसारको अवस्था यति विकराल बन्यो कि कतिपय ठाउँमा अन्न समयमा नपुगेर भोकमरी उत्पन्न भयो । सामानको मूल्य अत्यधिक वृद्धि भयो । संसार पूर्ण रूपले समस्याग्रस्त बन्न पुग्यो किनकि धेरैजसो अन्न युक्रेनबाट रुस हुँदै संसारभर पुग्ने गर्दथ्यो । यस युद्धबाट युक्रेनतर्फ कति क्षति भयो भन्नेबारे यस्तो तथ्याङ्क पनि छ– ५० अर्ब डलर बराबर त घर मात्रै क्षति भयो । ३८ अर्ब डलर बराबर सडक सञ्जाल क्षति भयो । त्यस्तै कलकारखाना र उद्योगमा दुई सय अर्ब डलर बराबर क्षति भयो ।

रुस–युक्रेन युद्धले यी दुवै मुलुकलाई त क्षति भएकै छ, त्योसँगै सिङ्गो विश्वलाई नै नराम्ररी असर पु¥याएको छ । तीव्र गतिमा वृद्धि हुँदै गइरहेको जर्मनीको अर्थतन्त्रले अहिले ठुलो आर्थिक मन्दीको सामना गर्नु परिरहेको छ किनकि जर्मनी रुसको ग्यासमा पूर्ण निर्भर देश हो । रुसबाट ग्यास जान छाडेपछि अहिले जर्मनी सरकार आफ्नो पहिलेको निर्णयप्रति पछुताइरहेको छ । 

यी सबै घटनाक्रममा अहिले आएर अमेरिकाले रुससँग तेल आयात गर्न थाल्यो । अरूलाई प्रतिबन्धको चेतावनी दिएर अमेरिकाले पर्दापछाडिबाट रुससँग सम्बन्ध सुधारिरहेको यो सबैभन्दा ठुलो उदाहरण हो । त्यो पनि उसले अघिल्लो वर्षको अक्टोबर र नोभेम्बरमा तेल आयात गरेको विषय सन् २०२४ को जनवरीमा आएर सार्वजनिक भएको छ । उतिबेला युरोपका देशलाई साथमा लिएर रुसको तेलमा प्रतिबन्ध लगाएको अमेरिकाले यतिबेला भने रुससँग तेल किनिरहेको छ । त्यसो त अमेरिकासँग तेल भण्डार छ । त्यसैले युरोपेली मुलुकहरूले अमेरिकासँग तेल किनिरहेका छन् । बिस्तारै रित्तिँदै गएको भण्डार पूरा गर्न यतिबेला अमेरिका रुससँग पर्दापछाडि तेलको कारोबार गरिरहेको ठम्याउन सकिन्छ ।  

युरोपको अवस्था कस्तोसम्म भइरहेको छ भने रुससँग तेल आयात नगरेर भारतबाट महँगोमा तेल किनिरहेको छ । जब कि भारतले खासै ठुलो मात्रामा तेल र ग्यास उत्पादन गर्दैन, गरे पनि थोरै गर्छ । त्यसैले भारतले बाहिरबाट कच्चा तेल किनेर प्रशोधन गरी तेल बेच्ने गर्दछ । अहिले भारतको अम्बानी समूहले रुसबाट कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्छ र त्यही तेल बेचेर अत्यधिक पैसा कमाइरहेको छ । 

अमेरिकाले पनि आफूसँग रहेको तेल महँगोमा बेचेर स्टकको भण्डार आधा मात्र बाँकी रहेपछि आफैँ रुससँग तेल आयात गर्न थालेको हो । अमेरिकासँग जतिबेला ७४ करोड २० लाख ब्यारेल तेल स्टक थियो । त्यो तेल महँगोमा युरोपलाई बेच्यो र पैसा कमायो । अब ऊसँग आधा मात्रै भण्डार बाँकी छ । युद्ध सुरु हुनुभन्दा पहिले अमेरिकाले रुसबाट ४० करोड डलरको तेल प्रतिमहिना आयात गर्दथ्यो तर अहिले २५ करोड डलरको तेल आयात गरेको छ । आखिर अमेरिकाले रुसबाट किन तेल आयात गरिरहेको छ ? यसका विभिन्न कारण छन् । अमेरिकाको अति आवश्यक परेको बेला प्रयोग हुने भण्डार गरिएको तेल धेरै कम भएको एउटा कारण औँल्याउन सकिन्छ । अमेरिकाले प्रतिदिन दुई करोड प्रतिब्यारेल तेल उपभोग गर्ने गर्दछ । जब कि उसँग भएको तेल अहिले आधा भएको छ । यस्तो स्थितिमा अमेरिकालाई आफ्नो तेलको भण्डार भर्नु जरुरी भयो । पहिले उसको भण्डार गरिएको तेल सन् १९८० को भन्दा पनि निकै कम स्तरमा पुगेको छ । त्यसैले अब रुससँग दुस्मनी मोलेर जोखिम मोल्न अमेरिका चाहँदैन । विश्वलाई रुससँग तेल नकिन्नुभन्दा पनि जापानले रुससँग कच्चा तेल किन्यो । त्यसैले युक्रेनका सम्बन्धमा अमेरिकाले आफ्नो नीति असफल भएको हो कि भन्ने महसुस गरिरहेको छ । रुसले पनि भारतसहित खाडी मुलुकसँग राम्रो सम्बन्ध बनाउँदै लगेको छ । चीन, उत्तर कोरिया जस्ता देश त पहिलेदेखि नै रुसको गठबन्धनमा नै थिए । अहिले आएर एसियाका अन्य देशलाई आफूतिर तान्न पनि पुटिनको कूटनीति सफल भएको देखिन्छ । 

अर्को रोचक घटना के भने युक्रेनले समेत चीनसँग सहयोग मागेको छ । कठिन अवस्था आएपछि सधैँ अमेरिकाले आफ्नो वर्चस्व कायम राख्न कुनै न कुनै उपाय निकाल्ने गर्छ । अहिले आएर उसले त्यही उपाय निकालेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अब यहाँ मुख्य प्रश्न उठ्छ, के उसो भए अमेरिकाले युक्रेनको साथ छाडेको हो त ? यसको जवाफ हामीले भविष्यमा पाउने छौँ । 

  

Author

सुदर्शन मङ्गोल