• २ साउन २०८१, बुधबार

तरकारी कि मन्दविष : निकाय भन्छ, ‘नियन्त्रण गर्न कठिन’

blog

काठमाडौँ, माघ १६ गते । दैनिक भान्सामा खपत हुने तरकारी कतिको स्वस्थकर छ ? आम उपभोक्ताले यस विषयमा गम्भीरतापूर्वक चासो दिएको पाइँदैन ।

साधारणतया, आँखालाई लोभ्याउने र किफायती मूल्यमा बजारमा उपलब्ध तरकारीमा प्रायः सबैको ध्यान जान्छ । तर किसान होस् या व्यवसायी या उपभोक्ता नै किन नहोस् विषादी प्रयोग भएका उत्पादनले मानव स्वास्थ्यमा पर्ने प्रत्यक्ष वा अप्रत्यक्ष असरप्रति सोच्नसम्म फुर्सद छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशाला सात प्रदेशको सात स्थानमा छ । बागमती प्रदेशअन्तर्गत काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल थोक बजारमा प्रयोगशालाको एक एकाइ अवस्थित छ । देशका विभिन्न सहरका चोक–चोकमा कृषि उपज तथा तरकारी बजारहरू धमाधम खुल्दै आएका छन् । तर ती उत्पादनको गुणस्तर मापन एवम् परीक्षणको संयन्त्र भने कमजोर छ ।

त्यसो त, कृषि उपज थोक बजारहरू कोशी प्रदेशमा झापाको बिर्तामोड, मधेश प्रदेशमा सर्लाहीको लालबन्दी, गण्डकीमा पोखराको कास्की, लुम्बिनीको रुपन्देही, नेपालगञ्जको बाँके र सुदूरपश्चिममा कैलालीको अत्तरियामा विषादी परीक्षणका लागि प्रयोगशाला छ ।

केन्द्रीय कृषि प्रयोगशालाका निमित्त प्रमुख राजीवदास राजभण्डारीले विषादी प्रयोगबाट माटो, बाली, उत्पादन र स्वयम् किसानको स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको बताउनुभयो ।

गत आर्थिक वर्ष २०७९/८० मा देशको सातै वटा प्रयोगशालाबाट जम्मा १३ हजार ४९१ वटा नमुना परीक्षण गरिएकोमा ६९ वटा नमुना उपभोगका लागि अयोग्य देखिएकाले नष्ट गरिएको थियो ।

राजभण्डारीले भन्नुभयो, “हामी स्पाम्पलिङ परीक्षण गर्छौँ र यसको प्रतिवेदन बजार विकास समितिलाई दिन्छौँ । उपभोगका लागि अयोग्य देखियो भने नष्ट गर्छौँ । यो प्रयोगशालाले नष्ट गर्ने होइन । बजारको समितिले त्यसलाई नष्ट गर्छ ।”

हाल नेपालमा १६५ साधारण नामका तीन हजार ३५ वटा व्यापारिक नाममा रासायनिक विषादीहरू विभिन्न शत्रुजीव लक्षित समूहअन्तर्गत पञ्जीकृत भएका छन् । विषादीको प्रयोगबाट मित्रजीवलाई समेत शत्रुजीवले असर पार्ने हुँदा कृषि भूमि तथा उर्वर माटोमा निरन्तर असर पर्दै आएको छ ।

उहाँले भन्नुभयो, “विषादीको डोज बढाएर किसानले आत्महत्या गर्नुपरेको अवस्था समेत छ । अनावश्यक विषादी प्रयोग गर्‍यो भने माटोको मित्रकिरा मर्छ । शत्रुकिराहरु झन् बढी आउने हुन्छ । यसले झनै समस्या आउँछ ।”

त्यसो त, विषादी प्रयोगबाट सबैभन्दा बढी असर किसानलाई पर्ने गरेको छ । छाला, मुख, श्वासप्रश्वास, आँखाबाट यसको असर परेपछि आँखा धुमिल हुने, नाकमा बढी नै सिँगान आउने, बेहोस हुने जस्ता तत्कालीन असर देखिन सक्छन् । दीर्घकालीन रूपमा कलेजोमा खराबी, आँखाको ज्योति हराउने, विकृत बच्चाहरू जन्मन सक्ने, ट्युमर पलाउने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने उहाँको भनाइ छ ।

नेपालमा प्रति वर्ष ३९६ ग्राम खास विषप्रति हेक्टर प्रयोग हुने गरेको छ । तरकारी बालीमा औषत खास विष १६०५ ग्राम प्रति हेक्टरका दरले प्रयोग भइरहेको र कृषिमा प्रयोग हुने विषादीको झण्डै ८० प्रतिशत तरकारी बालीमा प्रयोग हुने अध्ययनले देखाएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय प्रतिबद्धता र आवश्यकता अनुसार नेपालले कडा विषालुपना, मानव शरीर, जीवजन्तु र वातावरणमा असर पार्ने २४ घातक विषादीहरूको पञ्जीकरण र प्रयोगमा प्रतिबन्ध गरेको उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका वरपर अवस्थित कृषि बजारहरूमा विषादी परीक्षणका लागि राज्यकै भरपर्दो संयन्त्र छैन ।

ललितपुरको एकान्तकुनास्थित साङ्ग्रिला कृषि बजार सञ्चालक समितिका अध्यक्ष जङ्गबहादुर श्रेष्ठका अनुसार सो बजारमा उपत्यकासहित मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली लगायत विभिन्न जिल्लाबाट कृषि उत्पादन आउने गर्दछ । यससँगै छिमेकी मुलुकहरू भारत र चीनबाट पनि कृषि उत्पादनहरू आउने गरेको छ ।

यस्तै, बल्खुस्थित तरकारी बजारमा मुख्यगरी बागमती, मधेश र गण्डकी प्रदेशबाट कृषि उत्पादन भित्रने गरेको छ । बल्खु तरकारी बजारका कार्यकारी अध्यक्ष रामकृष्ण कुँवरका अनुसार बल्खुमा दैनिक करिब सात सय टन कृषि उपज सामग्री भित्रन्छ ।

कुँवरले बजारमा उपलब्ध हुने उत्पादन गुणस्तरीय हुने भएको तर विषादी नहालीकन उत्पादन नै नहुने अवस्था आएकोले यसका नियन्त्रणका लागि सरकारले नै पहल गर्नुपर्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “एक जना किसान, एउटा घरको मान्छेले गरेर हुँदैन । बाली लाउने बेलामा विषादी नभई नहुने अवस्था छ । तर यसले माटोमा, बालीमा, किसानलाई समस्या हुने गरेको छ ।”

भिडियो : मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।