तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक १ गते । गुल्मीमा हुने बजार अनुगमन नामको मात्रै र कर्मकाण्डी जस्तै हुने गरेको छ । चाडपर्वको समयमा गरिने अनुगमन देखावटी मात्रै हुने गरेको पाइएको हो ।
गुल्मीमा पछिल्लो समय अनुगमनका क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्नेलाई कारबाही भएको छैन । जसले गर्दा दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने, नवीकरण नगर्ने र म्याद गुज्रिएका खाद्य वस्तुहरु बेच्नेलाई थप प्रोत्साहन हुने देखिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख राजीव अर्यालका अनुसार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तुहरु जफत गरी नष्ट गर्ने, पहिले सुधार गर्नका लागि पत्र दिइने र त्यस पश्चातको अनुगमनका क्रममा सुधार भएको नपाइएको कारवाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । हालसम्म कतै कारबाही भएको सुन्नमा आएको छैन ? भन्ने गोरखापत्रको प्रश्नमा उहाँले आगामी दिनमा सुधार भएको नपाइएमा कारबाही गरेरै छाड्ने दाबी गर्नुभयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले कर्मकाण्डी अनुगमनको कुनै अर्थ नरहेको बताउँदै प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीका अनुसार हर्मिचौर, अर्वेनी, जयखानी र पूर्तिघाटका ५५ वटा पसलहरुमा अनुगमन गरेको बताउनुभयो । जहाँ आठ हजार नौ सय रुपियाँ बराबरका म्याद गएका सामग्रीहरु बरामद गरी नष्ट गरिएको थियो । अहिले मापदण्ड विपरीत चलेका पसलहरुलाई सुझाव दिइएको र अर्को पटकको अनुगमनमा सुधार नभए कारबाही गरेरै छाड्ने बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले अनुगमन गर्ने पाटो स्थानीय तहको भएको बताउँदै प्रशासनले प्रतिनिधि खटाउने र आवश्यक सहजीकरण मात्रै गर्ने बताउनुभयो ।