रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १ गते । वर्षौपछि सञ्चालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बस सञ्चालन गर्न सम्झौता भएपछि मानिसको आवतजावत र बसहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेका छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजले पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेपछि दावगरा बसपार्कमा चहलपहल बाक्लिएको हो ।
बसबाहेक जिप र इभी पनि प्रसस्त रुपमा यहाँ आउजाउ गर्छन् । जसले गर्दा उपल्लाचौरको व्यवसाय पनि बढेको छ । जनतासँग जग्गा लिएर २४ वर्षअघि बसपार्क सम्झौता भएको थियो । प्रतियोगिता उद्घाटनमा पुग्नुभएका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पनि बसपार्क व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।
बसपार्क वरपरको जग्गा सम्याइएको, घडेरीहरु निकाल्ने काम भइरहेको र बाँकी खण्डमा पनि डोजर लगाएर आवश्यक जग्गा व्यवस्थापन भरहेकोले छिट्टै कामले पूर्णता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलका कारण सयौं मानिस उपस्थित दावगराबाट नियमित रुपमा सवारी साधन छुट्न थालेका छन् । अटो, जिप र माइक्रोबस पनि यहाँ पुग्ने गरेका छन् । त्यसबाहेक चार्ज स्टेशन भएकाले इभी गाडी पनि नियमित जाने गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क २५ वर्षका लागि ‘आरबी कन्स्ट्रक्सन प्रा.लि. पोखरासँग नगरपालिकाले सम्झौता गरेको छ । हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक दुई लाख ११ हजार र अग्रिम आयकर २७ हजार पाँच सय ४३ रुपियाँ तिर्ने गरी सम्झौता भएको हो । २५ वर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क सञ्चालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपियाँ भुक्तानी गर्नेछ ।
भदौ दोस्रो साताबाटै यो बसपार्कबाटै बस छुट्ने गरेका छन् । यसअघिको चिप्लेटी बसपार्क सुनसान हुने भयो भनेर स्थानीय केही समय आक्रोसित हुनुहुन्थ्यो । नगरपालिकाले उक्त स्थानलाई उपयुक्त व्यवसायिक स्थल बनाउने गरी तयारी गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयबासीको चाहना अनुसारको काम गर्न पहल भएको श्रेष्ठको भनाइ छ ।
बसपार्क बनेपछि नियमित बस सञ्चालन हुँदा उपल्लाचौर, रमेटार सम्मका स्थानीय पनि खुसी हुनुहुन्छ । बस छुट्ने बेलामा भने यात्री उठाउन पुरानो बसपार्क पनि आउने गरेका छन् । टर्मिनल भवनसहित १७ रोपनी जग्गामा निर्मित बसपार्कमा ३ वटा टिकट काउन्टर, १७ वटा सटर र ३ वटा कर्मचारी कक्ष छ । बसपार्कमा १८ वटा शौचालय छन् । मोटर ग्यारेज, इभी चार्ज स्टेशन र खानेपानीको ट्याङ्की समेत नगरपालिकाले निर्माण गरेर संचालनमा ल्याइसकेको हो ।
२०५८ मा स्थानीय बासिन्दाले साढे १७ रोपनी जमिन निःशुल्क दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । पाँच वर्षदेखि बसपार्क बनेर पनि यो संरचना उपयोगबिहिन थियो । अब भने बसपार्क चलेको छ । घडेरी व्यवस्थापन गरेर स्थानीयलाई दिँदा यो क्षेत्र अझै चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।