नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक १ गते । जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका– ५ बिहुँकोटमा सारिएको छ । सदरमुकामदेखि २० किमी पश्चिममा रहेको बिहुँस्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा कार्यालय सारिएको समितिका अध्यक्ष कृष्णप्रसाद कंडेलले जानकारी दिनुभयो ।
सदरमुकाममा घर भाडा लिनका लागि रकम अभाव भएको, सरकारी कार्यालयहरुमा एउटा कोठा पनि नपाएपछि जिल्ला कार्यसमितिको बहुमतले कार्यालय सार्नुको विकल्प नभएको कंडेल बताउनुभयो ।
अध्यक्ष भएपछि आफ्नै कर्मस्थल रहेको बिहुँकोटमा निःशुल्क रुपमा कार्यालय सञ्चालन गर्न सार्न बाध्य भएको उहाँले बताउनुभयो ।
यसअघिका कार्यसमितिलाई घर भाडाबापत रकम आउने गरेको थियो । तर चालु आर्थिक वर्षदेखि भाडा कटौती भएको जानकारी आएपछि कार्यालय सञ्चालनमा कठिनाइ भएको थियो । उक्त कार्यालय बिहुँकोट सारिएको कँडेलले एक पत्रमार्फत सामाजिक सञ्जालमा जानकारी गरानुभएको थियोे ।
समितिले जिल्लामा हुने खेल गतिविधिलाई समन्वय गर्ने र राष्ट्रपति खेलकुद कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सदरमुकाममा रहेको कार्यालयलाई अध्यक्षले आफ्नो घरपायकमा सारेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।