• १६ भदौ २०८१, आइतबार

यति विमान दुर्घटनाको वार्षिकीमा भावुक पोखरेली

blog

यति एयरको दुर्घटनाको वार्षिकीमा सोमबार पोखरेलीले विविध कार्यक्रम सम्झिए । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, माघ १ गते । 
पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेतीखोंचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको एक वर्ष भएको छ । माघे सङ्क्रान्ति मनाउँदै गरेका पोखरेली यति एयरको दुर्घटनाले गत वर्ष विक्षिप्त बनेका थिए ।

दुर्घटनाको भयानक त्रासदीको वार्षिकीमा सोमबार पोखरेलीले विविध कार्यक्रम गरी त्यो दिन सम्झिए । पोखरा महानगरले दुर्घटनास्थलसँगै स्मृति स्तम्भ बनाएको छ । दुर्घटनामा निधन भएका सबैको नाम, ठेगानासमेत राखिएको स्तम्भ पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गर्नुभयो ।

प्रमुख आचार्यले दुर्घटनास्थलमा व्यवस्थित पार्क बनाउन यसपालि १० लाख बजेट विनियोजन गरेको जनाउनुभयो । “सेतीका दुवैतिरका वडाध्यक्षज्यूहरूलाई यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएका छौँ । यहाँ र व्यवस्थित पार्क बनाउने छौँ,” उहाँले भन्नुभयो ।


यति एअरलायन्ससँग समेत यसबारे कुरा भएको प्रमुख आचार्यको भनाइ छ । पार्कलाई दिवङ्गतका आफन्त, पोखरेली र पर्यटकको समेत आगमन स्थल बनाउने योजना छ ।

यतिको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटना जाँच आयोगले करिब नौ महिनामा तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरिसकेको छ ।


दुर्घटना स्थलमा अझै यति एअरको जहाजका भागहरू बाँकी छन् । दुर्घटना स्थलको खोचमा झाडी पलाइसकेको छ । विमानको भग्नावशेष रहेको ठाउँ नजिक नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । दुर्घटनामा निधन हुनेमा माओवादीका प्रदेश सदस्य त्रिभुवन पौडेल र प्रेस सेन्टरका सदस्य अनिल शाहीसमेत हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली सभामा उपस्थित दिवङ्गतका आफन्तहरू भावुक देखिन्थे । मानवीय त्रुटिका कारण दुर्घटना भएको प्रतिवेदन आएकोतर्फ इङ्गित गर्दै उनीहरूको साझा आवाज छ : मानवीय त्रुटि फेरि हुन नपाओस्, कसैले ज्यान यसरी गुमाउनु नपरोस् ।