• २१ वैशाख २०८१, शुक्रबार

टेलिकमको नगद लाभांश पारित

blog

काठमाडौँ,  माघ १ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ । 

कम्पनीको आइतबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले गत आवको मुनाफामध्येबाट प्रतिसेयर ४० रुपियाँका दरले सेयरधनीलाई सभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबारदेखि नै एनएमबी बैङ्कमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । 

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । चालु आवका लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईंलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ । साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकका रूपमा मनिषजङ्ग जोशीलाई निर्विरोध निर्वाचित पनि गरेको छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेर डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । 

त्यस्तै अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यव्रmमहरू परिलक्षित गरिरहको उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्नुभयो । आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबिच कम्पनीले कुल ४४ अर्ब ४२ करोड रुपियाँ आम्दानी गरी सात अर्ब ९२ करोड रुपियाँ मुनाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो । 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८ अर्ब ४६ करोड रुपियाँ राजस्वका रूपमा बुझाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको उहाँले जानकारी दिनुभयो ।