दोस्रो विश्वयुद्धको क्रममा र त्यसपछि विश्वमा उपनिवेश विरोधी राष्ट्रिय स्वतन्त्रताको लहर आयो । एसिया र अफ्रिकाका राष्ट्र एकपछि अर्को गरी स्वतन्त्र हुँदै गए । राष्ट्रिय स्वतन्त्रता प्राप्तिको लडाइँमा दुईथरी विचारधारा प्रभावशाली रहे । प्रजातन्त्रवादी र साम्यवादी । प्रजातान्त्रिक पक्षको लडाइँ अहिंसात्मक कहीँ कहीँ हिंसात्मक भए पनि मूलतः सत्य र अहिंसाका पुजारी महात्मा गान्धीको प्रभावमा सम्पन्न भयो । साम्यवादी पक्षको लडाइँ माक्र्सवाद, लेलिनवाद र स्टालिनवादका आधारमा हिंसात्मक रह्यो । गान्धी हिन्दु, मुस्लिम, सिख, इसाई सबै वर्ण सबै जाति तथा पुँजीपति, श्रमिक, किसान, मजदुर सबैको अभिभावक राज्य बन्नु पर्छ । कसैप्रति पनि दुर्भावना राख्नु हुँदैन । जघन्य अपराधीको पनि हृदय परिवर्तन गर्न सकिन्छ भन्नुहुन्थ्यो । वर्ग समन्वयमा उहाँको जोड थियो । गान्धीकै बाटो अनुसरण गरेर जयप्रकाश नारायणले डाँकुहरूलाई पनि आत्मसमर्पण गर्न लगाउनुभएको थियो ।
साम्यवादी खेमामा वर्ग सङ्घर्षको आवरणमा घृणा, द्वेषको प्रसार र माक्र्सवाद–लेलिनवादको कार्यान्वयनमा बाधा भन्दै स्टालिनको नेतृत्वमा विरोधी पक्षको क्रूर दमन, हत्या थियो । स्वभावैले यी दुई पक्षको वाणीमा पनि भिन्नता आउने नै भयो । एकातर्फ प्रेम, सदाचार, सहिष्णुताको मधुर आह्वान थियो भने अर्को तर्फ घृणा हिंसा, तिरस्कारका जोसिला वक्तव्य हुन्थे । प्रजातान्त्रिक खेमा तर्फका नेता त्याग र आदर्शका प्रेरणा स्रोत बनेका थिए । वाणीमा संयमता, आचरणमा शुद्धता, काममा कर्तव्यनिष्ठता, निर्णयमा विवेकशीलता प्रजातान्त्रिक शासन अन्तर्गतका उच्च ओहोदाका नेताहरूमा देखिन्थ्यो । तत्समयका नेताहरू भारतका नेहरू, पटेल, लालबहादुर शास्त्री, जयप्रकाश नारायण, अटलविहारी बाजपेयी, जर्मनीको विलिब्रान्ट, ब्रिटेनका विस्टन चर्चिल, हेरोल्ड विल्सन, अमेरिकाका रुजवेल्ट, जोन एफ केनेडी, नेपालका बिपी कोइरालाका वाणीमा संयमता र बौद्धिकता तथा आचरणमा शुद्धता देखिन्थ्यो । स्वभावैले तत्समयका राजनीतिक पार्टीका कार्यकर्ता तथा जनतामा पनि यस्तै संस्कारको प्रभाव थियो ।
केही समयअघि नेपालको संसद्को एउटा समितिको बैठकमा पोखराको होटलमा सांसदहरूका बिचमा भएको घोचपेचको कुरा उठ्यो । निरीक्षण गर्न जानुभएका सांसदहरूका बिच ठग, ठगी, चरित्रहीन आदि लाञ्छनाका वचन होटलको डिनर टेबुलमा आदान प्रदान भएको घटना समितिको बैठकमा एक सांसदले आक्रोशित मुद्रामा उठाउनु भएछ । एउटा नयाँ पार्टीको सभापति र सरकारको उपप्रधानमन्त्री भइसकेको व्यक्तिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गर्दाको प्रतिक्रियामा सामाजिक सञ्जालमा लेख्नुभयो, ‘सरकार म¥यो, जुठो प¥यो ।’ गएका दिनहरूमा संसद्मा माननीयहरूले आज बोल्ने भोलि संसद्को अभिलेख रेकर्डबाट हटाउन समामुखले निर्देश गर्नुपर्ने कुरा आम भइसकेको छ ।
सामाजिक सञ्जालहरू फेसबुक, एक्स, युट्युबहरूमा तीव्र प्रसार हुने सामग्रीमा घृणा, लाञ्छनालगायतका घृणित अपशब्द प्रयोग भएका टिप्पणी नै सर्वाधिक देखिन्छन् । सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ कि नेपालमा कुनै पनि मानिस सज्जन छैनन् । सबै चोर, हत्यारा, भ्रष्ट मात्र यहाँ बसेका छन् । असल मानिस देश छाडेर पलायन भइसकेका छन् । घृणा, द्वेष, लाञ्छनाका अभिव्यक्ति उग्रवादीहरूबाट पहिले पनि सुनिएका हुन् । २०७९ को आमनिर्वाचनपछि यस्तो दुर्वचन र नकारात्मकताको सङ्गठित रूपमा तीव्र प्रसार भएको छ ।
यो विषाक्त अभिव्यक्तिको सिकार नेपाली समाज मात्र बनेको छैन । नेपालमा यो घृणित संस्कृति अन्य देशभन्दा धेरै पछि भित्रिएको छ । हाम्रो छिमेकी भारतमा इस्ट इन्डिया कम्पनी भारतबाट जाने बेलामा हिन्दु मुसलमानका बिचमा द्वन्द्व सिर्जना गरेर एक समुदायले अर्को समुदायलाई घृणा गर्ने अवस्थाको सिर्जना गरायो । लाखौँ मानिसको दर्दनाक हत्या भयो । महात्मा गान्धीको सर्व धर्म सहिष्णुता र कर्म तथा वचनले हिंसाविरोधी सुसंस्कृत आचार तथा उहाँको अथक प्रयत्न तथा अनुयायीहरू पण्डित जवाहरलाल नेहरू, सरदार बल्लभ भाइ पटेलको राज्य नीति, धर्म निरपेक्षता तथा अल्पसङ्ख्यकको सुरक्षाको प्रत्याभूतिले त्यो आतङ्क तथा हिंसालाई परास्त गर्दै सभ्य भारतको निर्माण हुँदै थियो ।
सन् २०१४ पछि विनायक दामोदरदास सावरकरको हिन्दु राष्ट्र भारतको एजेन्डा र मुस्लिम विरोधी सिद्धान्तको अनुयायीको नेतृत्व सत्तामा आएपछि सभ्यता र मर्यादाका सीमा उल्लङ्घन गर्दै घृणाको विस्तार हुन लाग्यो । सम्मानित प्रधानमन्त्रीलाई ‘फेकु,’ विपक्षी पार्टीका नेतालाई ‘पप्पु’ जस्ता हेय शब्द प्रयोग हुन थाले । अमेरिकामा सन् २०१६ का राष्ट्रपतिका उम्मेदवारले आफ्ना विरोधीलाई परजीवी भने । पूर्वराष्ट्रपति भइसकेपछि आफूलाई पराजित गरी राष्ट्रपति भएको सम्मानित व्यक्तिलाई बाङ्गो टेढो, बहुलाहा आदि शब्दले लाञ्छित गरे । अहिले पुनः राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पूर्वराष्ट्रपतिलाई बहुलाहा भन्दै कांग्रेसकै सम्बोधनमा लाञ्छना लगाए । जर्मनीको एफडी पार्टीले हिटलरको सिद्धान्त पछ्याउँदै मुस्लिमबाट जर्मन रगत विषाक्त भयो भन्छन् । अर्जेन्टिनाका राष्ट्रपति आफ्ना विरोधी पत्रकारलाई ‘डङ्की’ गधा भन्छन् ।
सभ्य संसार किन असभ्य बन्दै छ ? सभ्यता त विकसित परिस्कृत हुँदै जानुपर्ने हो तर पनि उल्टो गति क्रममा घुमेको देखिन्छ । के यो पनि चक्रीय हुन्छ ? अत्यधिक घृणाले दोस्रो विनाशकारी विश्व युद्ध सुरु भयो । तत्पश्चात्को समय सभ्य संसार निर्माणतर्फ उन्मुख थियो । अझ झन् सन् १९८९ मा बर्लिनको पर्खाल तोडिएपछि र पूर्वी युरोप तथा रुसमा प्रजातान्त्रिक प्रक्रिया सुरु भएपछि पूर्व र पश्चिमको द्वन्द्व पनि मेटिएको थियो । सन् १९७१ मा निक्सनको चीन भ्रमण र अमेरिका र चीनबिच कूटनीतिक सम्बन्ध जोडिएपछि चीनको वाणीमा धेरै संयमता आएको थियो । १९९१ मा स्टार्ट १ सन्धिपछि अमेरिका र रुसका बिचमा आणविक हतियारको प्रतिस्पर्धा पनि रोकिएको थियो । त्यो समयमा यस्तो लाग्दथ्यो विश्व भाइचारा र वन्धुत्वको भावनाले मानव कल्याण र आर्थिक उन्नति तर्फ बढ्ने छ । केही समय खुसीका किरण देखिएका पनि हुन् । यो समयमा मानवोपयोगी कैयौँ अनुसन्धान र आविष्कार पनि भए । धनी राष्ट्रले कम आय भएका मुलुकलाई गर्ने सहायता र सहयोगमा पनि वृद्धि गरे । यो खुसी र विश्व वन्धुत्व लामो समय टिक्न सकेन । हुन त सन् १९८० देखि नै युरोपमा उग्र दक्षिणपन्थीले युनिभर्सलिज्म र विविधतामाथि सङ्गठित रूपमा आक्रमण सुरु गरेका थिए । अहिले विषवृक्ष झाँगिएर विश्वभर घृणा, द्वेष, आत्मराग तथा शक्तिशालीको वर्चस्वको पक्षपाती खतरनाक विचार फैलिरहेको छ । यसले सभ्य समाजलाई नराम्रोसँग दूषित गरी सामाजिक विशृङ्खलता बढाउँदै छ ।
मानिसले घृणा किन फैलाउँछ ? किन अतिवादतर्फ आकर्षित हुन्छ ? वा अतिवाद किन रुचाउँछ ? यो मनोवैज्ञानिक कारण हो । प्रत्येक मानिसले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । अर्थात् समाजमा आफ्नो पहिचान बनाउन चाहन्छ । हामी सबै चाहन्छौँ, समाजमा हाम्रो स्थान होस् । हाम्रो व्यक्तित्वको चर्चा होस् । हामी सम्मानित हुन सकौँ । यो सबैको चाहना हो । हामी प्रख्यात मानिसका नाम सुन्छौँ । राजनेता होस्, दार्शनिक होस्, ख्यातिप्राप्त वैज्ञानिक होस्, समाज सुधारक होस् । जुनसुकै क्षेत्रको भए पनि ख्यातिप्राप्त व्यक्तिको नाम सबैले सम्मान स्वरूप वा उदाहरण स्वरूप लिन्छौँ । यी मानिसका कृतिका अध्ययनबाट हामीलाई प्रेरणा मिल्छ । हामीमा पनि केही सिकौँ, केही गरौँ भन्ने भावना जाग्छ । अध्ययनशील, विनयी बनाउँछ, मानसिक ऊर्जा मिल्छ । यो सकारात्मक पक्ष हो । केही मानिस हुन्छन्, जसले अरू मानिसको ख्याति र प्रशंसा सुन्छन् । उनीहरूले प्राप्त गरेको सम्मान, प्रतिष्ठा देख्छन् । ती मानिसलाई आफू देखिन समाजमा आफ्नो उपस्थिति जनाउने इच्छा जाग्छ । गहिरो अध्ययनको कमी र सोचाइ तथा विश्लेषणको गम्भीरताको अभाव वा छिटो स्थापित हुने महìवाकाङ्क्षाले उनीहरू नकारात्मकता फैलाउन थाल्छन् । अरूका दोष मात्र देख्ने तथा असल मानिसलाई पनि दोषी देखाउने गर्छन् ।
नीतिमा एउटा श्लोक छ ‘दह्यमाना सुतीव्रेण निचा पर यशोग्निना, अशक्तास्ततपदं गन्तुं ततो निन्दा प्रकुर्वते।” अर्थात् निम्न कोटीका मानिस अरूको यस सुनेर देखेर जल्छन् तर त्यस्तै काम गर्ने सामथ्र्यको अभावले त्यो पदमा पुग्न नसकेर तिनीहरूकै निन्दा गर्छन् । अहिले सामाजिक सञ्जालले यस्तो निन्दा समाजमा फैलाउन सजिलो भएको छ । यसको प्रभाव हाम्रो समाजमा परिरहेको छ । समाजमा घृणा फैलिनु र नकारात्मकता बढ्नुको यो एउटा पाटो हो ।
हरेक कालखण्डमा समाजमा दुई तत्व रहिरहेको हुन्छ । एउटा तत्व अर्थात् समूह परम्पराप्रति मोह राख्छ । त्यो समूहको विचार पहिलेको समय, पहिलेको शासन, पुरानो व्यवस्था ठिक थियो भन्ने मान्यताको पक्षपाती हुन्छ । यो समूह सङ्कुचित विचारको भएको र हरेक घटनामा षडयन्त्र देख्ने भएकाले समाजमा अफवाह फैलाउन तथा समाजलाई विभाजन गर्न हरसमय उद्धत रहन्छ । यस समूहले आफ्नो उद्देश्य प्राप्तिका लागि जुनसुकै साधन र माध्यम अपनाउँछ । साधन र माध्यमको शुद्धतामा विश्वास गर्दैन । यो समूह दूरगामी सोच नराख्ने भएकाले आफ्नो कृत्यले देश र समाजलाई कस्तो असर पर्छ, को बदला आफ्नो हित मात्र हेर्छ । अर्को समूह प्रगतिशील पक्षको हुन्छ । यो समूहले सधैँ सकारात्मक परिवर्तन चाहन्छ र सकारात्मक परिवर्तनलाई आत्मसात् गर्छ । चलिरहेको सामाजिक व्यवस्था तथा राजनीतिक आर्थिक व्यवस्थामा के कमी छन् र तिनले जनतालाई राम्रो परिणाम दिन सकिरहेका छैनन् भन्ने भनी खोजी गर्ने र सुधारलाई अगाडि बढाउने काम गर्छ । यी दुवै समूहका बिचमा समाजमा सधैँ वैचारिक सङ्घर्ष चलिराखेको हुन्छ ।
विश्वमा अहिले अनुदारवादी विचारको विस्तार भइरहेको छ । युरोप, अमेरिका, एसियाका धेरै प्रजातन्त्र अनुदारवादी दक्षिणपन्थीको नियन्त्रणमा छन् । जसले आआफ्नो देशमा हिंसा, घृणा, विभाजनलाई प्रश्रय गरेका छन् । स्केन्डेभियन देश जस्ता असल प्रजातन्त्र भएका देशमा पनि अनुदारवादी विचारको विस्तार भइरहेको छ । यसले गर्दा कैयौँ देशका अधिनायकवादी शासनबाट दबिएका जनताको लोकतान्त्रिक आन्दोलनले ऊर्जा प्राप्त गर्न सकिरहेको छैन । यस्तो विपरीत चक्र किन चल्यो ? के यो प्रजातन्त्रको असफलता हो या प्रजातन्त्रमा जीवन्तताको अभावले यस्तो भएको हो ? यो चर्चा छुट्टै गर्नु उपयुक्त होला । जनताको स्वतन्त्रताको चाहना कहिल्यै मर्दैन । उज्यालो दिन अवश्य आउँछ । त्यसका केही सङ्केत पनि देखिन थालेका छन् । अहिलेलाई प्रतिभावान इटालियन दार्शनिक राजनीतिज्ञ एन्टोनियो ग्रामस्कीका शब्द सापटी लिएर यति भन्नु पर्याप्त छ– पुरानो जर्जर व्यवस्था मर्दै छ, नयाँ प्रगतिशील व्यवस्था जन्मन सङ्घर्ष गर्दै छ । यो समय असभ्यहरूको हो ।