सिराज खान
नेपालगन्ज, असार ३० गते । पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्ने सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट ठुलो रकम भुक्तानी नपाउँदा सेवा प्रवाह प्रभावित हुने अवस्था आएको जनाएको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार १६ करोडभन्दा बढी बिमा वापतको रकम समयमै नआउँदा अस्पतालको सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको हो ।
उहाँले भन्नुभयो, “बिरामीले सेवा लिएको भुक्तानी फिर्ता माग्नुपर्ने हुन्छ, तर रकम नआउँदा अस्पतालको आर्थिक व्यवस्थापनमा गम्भीर समस्या परेको छ ।”
अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ७० लाख रुपियाँ भुक्तानी दिनुपर्नेमा हालसम्म मात्र तीन करोड ७० लाख रुपियाँ दिएको छ । गत वर्षको ९० लाखमध्ये केही दिनअघि मात्रै ८१ लाख रुपियाँ मात्र भुक्तानी गरिएको छ । बोर्डले अस्पताललाई १६ करोड नौ लाख रुपियाँ अझै भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रमुख डा. सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार बाँकी रकम नआउँदा आवश्यक औषधी, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस र क्याथ ल्याबका लागि आवश्यक रसायनहरू खरिद गर्न नसकिने अवस्था आएको छ । एक वर्षदेखि व्यापारी र सप्लायर्सलाई भुक्तानी गर्न नसकिएको र अहिले १४ करोड रुपियाँ उनिहरुलाई भुक्तानी गर्न बाँकी रहेको डा. सुवेदीले बताउनुभयो ।
“अब व्यापारीहरूले पनि उधारोमा सामान दिन नसक्ने अवस्था आइसकेको छ, जसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन नै कठिन हुँदै गएको छ,” उहाँले थप्नुभयो ।
भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले बिमा अनिवार्य बनाएको सरकार आफैँले समयमै रकम नदिँदा अस्पतालका लागि बिमा कार्यक्रम ‘निल्नु न ओकल्नु’ जस्तो बनेको बताउनुभयो । उहाँले थप्नुभयो, “सरकारले यदि भुक्तानी दिन सक्दैन भने बिमा कार्यक्रम हटाउनुपर्छ, वा बोर्डले नियमित भुक्तानी गर्नुपर्छ ।”