• ३१ असार २०८२, मङ्गलबार

लेदोको कारण सडक कटान हुँदा बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

blog

पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध । तस्बिर

केदार तिमल्सिना
बनेपा, असार ३१ गते ।
पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले वर्षासँगै आएको भेलका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका– ११ माम्ती, रोसी गाउँपालिका–९ पिन्थली र रोसी गाउँपालिका–९ बिरुवामा खहरे खोलामा आएको लेदोका कारण सडक अवरुद्ध भएको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक घलेले माम्तीमा सोमबार राति १० बजे, पिन्थलीमा साढे १० बजे र बिरुवामा सोमबार राति साढे ११ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध रहेको बताउनुभयो । जेसीबिको प्रयोगबाट अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वर्षायाममा हुन सक्ने बिपी राजमार्ग अवरुद्ध हटाउनका लागि सडक डिभिजन भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म जेसिबी, लोडर, ग्रेडर, ट्रीपरलगायतका २१ वटा उपकरण राजमार्गमा राखेको जनाएको छ । गत असोज महिनामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि सामान्य वर्षामा समेत बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।