• ३१ असार २०८२, मङ्गलबार

विस्थापनको सँघारमा इन्टरनेट सिकाउने ‘थ्रिजी’

blog

काठमाडौँ, असार ३१ गते । मोबाइलमा उच्च गतिको इन्टरनेट सुविधा सुरुवात गरेको दूरसञ्चारको तेस्रो पुस्ता (थर्ड जेनेरेसन) प्रविधि अर्थात् ‘थ्रिजी’ नेपालबाट विस्थापन हुने अवस्थामा पुगेको छ । चल्तीको फोरजी प्रविधिमा अत्यधिक लगानी गरेका दूरसञ्चार सेवाप्रदायकले थ्रिजीको लगानी घटाउँदै क्रमशः यो सेवा बन्द गर्ने तयारी गरेका हुन् । 

मोबाइलबाटै पहिलो पटक भिडियो कल, ब्राउजिङ, जिपिएस जस्ता सुविधा दिएको थ्रिजीका प्रयोगकर्ता तीव्र रूपमा घट्दा यो विस्थापनको नजिक देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक वर्षकै अन्तरमा थ्रिजी प्रयोग गर्नेको सङ्ख्या ६५ लाखले घटेको छ । २०८१ जेठमा ७३ लाख ७० हजार थ्रिजी प्रयोगकर्ता रहेकोमा २०८२ जेठमा तीव्र रूपमा घटेर जम्मा आठ लाख ७० हजार कायम भएको प्राधिकरणको तथ्याङ्क छ ।

यसमध्ये निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका थ्रिजी प्रयोगकर्ताको हिस्सा अत्यन्त कम छ । जेठसम्म एनसेलका केवल एक लाख १५ हजार थ्रिजी प्रयोगकर्ता छन् । सो अवधिसम्म टेलिकमका साढे सात लाख थ्रिजी प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा टेलिकमका थ्रिजी प्रयोगकर्ताको सङ्ख्या अत्यधिक रूपमा घटेको तथ्याङ्कले चित्रण गर्छ । २०८१ जेठमा टेलिकमका ५६ लाख ४३ हजार थ्रिजी प्रयोगकर्ता रहेकोमा एक वर्षमै ४९ लाखले त्यस्ता प्रयोगकर्ता घटेको देखिन्छ । 

थ्रिजी विस्थापित गर्दै सेवाप्रदायक

दूरसञ्चार प्रविधिमा निरन्तर आइरहेको परिवर्तनका कारण सेवाप्रदायक अहिले पुरानो बनेको थ्रिजी प्रविधिलाई विस्थापित गर्ने योजनामा छन् । एकातिर फोरजी प्रविधिमा बढ्दो लागत र अर्कोतिर पुरानो प्रविधिमा थपिरहनुपर्ने खर्च तथा घट्दो आयलाई कारण देखाउँदै सेवाप्रदायक यो प्रविधि बन्द नै गर्ने तयारीमा छन् । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले यसअघि सार्वजनिक रूपमै थ्रिजी बन्द गर्ने योजना सार्वजनिक गरिसकेको छ । हालै एनसेलले सन् २०२५ भित्रै थ्रिजी नेटवर्क बन्द गर्ने घोषणा गरेको छ । देशैभर फोरजी प्रविधि विस्तार भइसकेको अवस्थामा पुरानो नेटवर्क बन्द गर्ने कम्पनीको योजना रहेको एनसेलले जनाएको छ । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले औपचारिक रूपमै थ्रिजी बन्द गर्ने घोषणा नगरे पनि पुरानो प्रविधिमाथिको निर्भरता र लगानी घटाउने रणनीति लिएको छ । हाल कायम रहेका थ्रिजी प्रयोगकर्तालाई पनि फोरजी प्रविधि उपयोगमा आकर्षित गरिरहेको टेलिकमले व्यवसाय बढाउन पनि नयाँ प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । 

त्यसो त फोरजीका लागि अर्बौं रकम खर्च गरिसकेको अवस्थामा पुरानो प्रविधिको प्रयोग सेवाप्रदायकका लागि व्यावसायिक रूपमा प्रत्युत्पादक बन्ने देखिन्छ । फोरजीका लागि नेपाल टेलिकमले मात्रै २२ अर्ब रुपियाँभन्दा बढी खर्च गरिसकेको छ भने एनसेलले यसमा सुरुवाती रूपमा १० अर्ब रुपियाँभन्दा बढी खर्च गरिसकेको छ । नेटवर्ककको मर्मतसम्भार तथा व्यवस्थापनमा प्रत्येक वर्ष सेवाप्रदायकले थप खर्च गर्नुपर्ने हुन्छ । 

प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमको फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ३९ लाख पुगेको छ । त्यस्तै एक करोड १६ लाखले एनसेलको फोरजी प्रयोग गर्छन् । टेलिकम र एनसेलले देशको सबै स्थानीय तहमा फोरजी पुगेको घोषणा गरेका छन् ।