‘दुई दशकमा आन्दोलनका कारण कोही पर्यटक पनि अप्ठ्यारोमा परेनन्’
भ्लगका बिचमा एक प्रदर्शनकारीले ह्यारीलाई ‘योर सेफ्टी इज आवर कन्सर्न’ अर्थात् तपाईंको ‘सुरक्षा हाम्रो सरोकार हो भनेर’ बताउँछन् । उनको यो अभिव्यक्तिलाई उक्त भ्लगको कमेन्ट्समा धेरैले प्रशंसा पनि गरेका छन् । प्रदर्शनको तनावपूर्ण अवस्थामा पनि प्रदर्शनकारीले एउटा पर्यटकको ख्याल राखेको भन्दै उहाँको अभिव्यक्तिको प्रशंसा भएको हो ।वास्तवमै जेनजी प्रदर्शन विदेशी पर्यटकप्रति सहिष्णु देखिएको छ । प्रदर्शनबाट होटेल तथा पर्यटकलाई पुगेको क्षति अध्ययन गर्न आइतबार राजधानीका विभिन्न होटेल पुग्दा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पनि यस्तै देख्नुभयो । “मैले कुनै पनि होटेलमा पर्यटकमाथि आक्रमण भएको र उहाँहरूलाई क्षति पुगेको जानकारी पाइनँ,” उहाँले भन्नुभयो ।
प्रदर्शनका कारण विभिन्न होटेलमा करिब २५ अर्ब रुपियाँको प्रारम्भिक क्षति आकलन गरेको होटेल सङ्घ नेपाल (हान) ले पनि होटेलमा कुनै पर्यटकलाई हानीनोक्सानी नभएको जनाएको छ । हानका सदस्य होटेलबाट प्राप्त जानकारी अनुसार होटेलमा भौतिक क्षति पुगे पनि पर्यटकलाई कुनै हानीनोक्सानी भएको नपाइएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । “तोडफोड र आगजनी भए पनि होटेलमा भएका पर्यटकलाई तुरुन्तै सुरक्षित रूपमा व्यवस्थापन गर्न सफल भयौँ,” उहाँले भन्नुभयो ।
हानका अनुसार भदौ १६ गतेदेखि प्रदर्शन सुरु भएको दिन अर्थात् भदौ २३ गतेसम्म १५ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यी पर्यटक मुख्य गरी काठमाडौँ, पोखरा र चितवनका विभिन्न होटेलमा रहेको पाइएको हान अध्यक्ष शाहले बताउनुभयो । “त्यसमध्ये कोही पर्यटकलाई पनि क्षति भएको पाएका छैनौँ,” उहाँले भन्नुभयो । कफ्र्यु, विमानस्थल बन्दका कारण पर्यटकलाई केही दुःख भए पनि उनीहरूलाई व्यक्तिगत आक्रमण अथवा क्षति नभएको उहाँले बताउनुभयो ।
परिस्थिति सामान्य भएकाले जुन उद्देश्यले पर्यटक नेपाल भित्रिएका हुन् त्यसमा सहजीकरण गर्ने र उनीहरूलाई सकुशल आफ्नो देश फर्काउने गरी होटेलहरू लागिरहेको पनि शाहले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म उक्त अवधिमा नेपाल भित्रिएकामध्ये करिब आधा पर्यटकलाई सकुशल फर्काइएको छ ।
जेनजी प्रदर्शन मात्र होइन यसअघिका कुनै पनि राजनीतिक प्रदर्शनमा विदेशी पर्यटकलाई क्षति नपुगेको बोर्डका प्रमुख कार्यकारी जोशी दाबी गर्नुहुन्छ । “दुई दशकमा आन्दोलनका कारण कोही पर्यटक पनि अप्ठ्यारो परेका छैनन्,” उहाँले भन्नुभयो, “यसले नेपाली नागरिक पर्यटकप्रति सहिष्णु र संवेदनशील रहेको देखाउँछ ।”
प्रदर्शनकै बिचमा पनि पर्यटकलाई आवश्यक समन्वय र सहजीकरणमा पनि कुनै कमी हुन नदिएको बोर्डले जनाएको छ । जेनजी प्रदर्शनकै क्रममा पनि काठमाडौँबाट पोखरा अथवा चितवन जानुपर्ने र त्यहाँबाट काठमाडौँ आउनुपर्ने पर्यटकलाई पनि यात्राका लागि बोर्डले सहजीकरण गरेको र त्यस क्रममा पनि कुनै समस्या नभएको जोशीले जानकारी दिनुभयो ।
“हामीले सञ्चालनमा ल्याएको सटल (बस) पर्यटकको आवतजावतका लागि एकदमै प्रभावकारी भयो,” उहाँले भन्नुभयो । होटेलमा बसेका र यात्राका लागि समेत सहजीकरण हुँदा पर्यटकले अप्ठ्यारो अवस्थामा पनि नेपाल हुँदा धेरै समस्या भोग्नु नपरेको उहाँको भनाइ छ ।
उपत्यकाबाट बाहिरिने बढे
असहज परिस्थितिका कारण बन्द भएको हवाई उडान खुलेयता काठमाडौँ उपत्यकाबाट बाहिरिने हवाई यात्रु बढेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्दोलनका कारण उपत्यकामै रोकिएका र चाडपर्वमा थातथलो फर्किनेको चापले अहिले आन्तरिकतर्फको टर्मिनल भरिभराउ छ ।
विमानस्थल कार्यालयका प्रवक्ता रेन्जी शेर्पाले भन्नुभयो, “दुई दिन बन्द भएको उडान खुलेयता उपत्यकाबाहिर जाने यात्रु बढेका छन् । दसैँलगायतका चाडपर्व नजिकिएसँगै आन्तरिकतर्फ मात्रै नभएर विदेशबाट भित्रिने यात्रुसमेत बढ्दै गएका छन् ।” आन्तरिकतर्फ हाल काठमाडौँबाट पोखरा, नेपालगन्ज, भैरहवा, धनगढीलगायतका गन्तव्यमा यात्रुको चाप बढी रहेको जानकारी दिँदै उहाँले बिहीबार, शुक्रबार र शनिबार काठमाडौँबाट १२ सय हाराहारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण भएको बताउनुभयो ।
उपत्यका भित्रिनेभन्दा बाहिरिने यात्रुले जहाज भरिभराउ हुन थालेपछि काठमाडौँबाट विभिन्न गन्तव्यको हवाई भाडासमेत वृद्धि हुँदै गएको छ ।