धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले जसपा नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ ।
बिहीबार विशेष भेटमा उहाँले मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्रकुमार सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जसपा नेपाल छठ पर्वपछि सहभागी हुने बताउनु भएको हो । प्रदेश सरकारले विश्वासको मत लिएपछि गठबन्धन दलहरूको साझा कार्यक्रमसहित जसपा सरकारमा प्रवेश गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
जसपा नेपालका सबै प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी भएको उहाँले दाबी गर्नुभयो । उहाँले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्श अनुसार संसदीय दलले वर्तमान परिस्थिति र जनताको मनोभावना अनुरूप डेलिभरी दिन सक्ने, ईमानदार र योग्य सांसदहरूलाई सरकारमा पठाउने निर्णय लिएको जानकारी दिनुभयो ।
जनताको विश्वास जित्दै मधेश प्रदेशलाई सुशासन, विकास र स्थायीतर्फ अघि बढाउने जसपाको उद्देश्य स्पष्ट रहेको उहाँले छठ पर्व सकिएलगत्तै मन्त्री चयन र सरकारमा सहभागिताको अन्तिम प्रक्रिया टुङ्गो लगाउने बताउनुभयो ।