• २७ पुस २०८१, शनिबार

घुर्ने समस्या : हेलचेक्राइँ गरे ज्यानै जान सक्छ : प्रा.डा. श्रेष्ठ

blog

जीवनशैली परिवर्तन गरेर धेरै जस्ता घुर्ने समस्या निको बनाउन सकिन्छ 

काठमाडौं, पुस २२ गते । घुर्ने समस्या धेरै मानिसको साझा समस्या हो । सुतेको बेलामा नाक, मुखबाट आउने आवाजलाई घुर्ने समस्या भनिन्छ ।नेपालमा कडा घुराइका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन। तर अमेरिकी एक संस्थाले गरेको अध्ययन अनुसार विश्वको कुल जनसङ्ख्यामध्ये २० प्रतिशतलाई यस्तो समस्या भएको देखिएको छ ।सोही तथ्याङ्कलाई आधार मान्दा नेपालमा १८ देखि २० लाख मानिसमा कडा खालको घुर्ने समस्या हुनसक्ने अनुमान गरिएको छ ।

नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा.डा.दीपेन्द्र श्रेष्ठका अनुसार मुखले सास फेर्ने, सुत्न नसकेर मुख खोलेर सुत्ने, नाक बग्ने, सास फेर्न गाह्रो हुने, कान, घाँटी दुख्ने जस्ता समस्या लिएर वीर अस्पतालको ओपिडीमा आउने गर्दछन् । धेरैले घुर्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्दछन् । धेरै घुर्ने बानीले समग्र स्वास्थ्यमा नकारात्मक असर गर्ने डा. श्रेष्ठ बताउनहुन्छ ।  

प्रा.डा. श्रेष्ठले सामान्य मानिने घुर्ने समस्याले शारीरिक मात्र नभएर मानसिक समस्या निम्त्याउने बताउनुहुन्छ ।  घुर्ने समस्याले गर्दा जीवनशैलीमा नै परिवर्तन आएमा, स्वास्थ्यमा असर परेमा यसलाई समस्याको रूपमा हेर्नुपर्ने चिकित्सकको भनाइ छ । माथिल्लो श्वासनलीमा अवरोध आएमा श्वासमा आवत-जावतमा समस्या आई घुर्ने समस्या निम्तिने डा.श्रेष्ठकाे भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “विभिन्न कारणले स्वास नलीको माथिल्लो भागमा हावा आवत-जावतमा समस्या आएर घुर्ने समस्या निम्तिन्छ । त्यसका अलावा नाक, घाँटी, जिब्रो, अनुहारको हड्डीको असामान्य बनावटको कारणले श्वासप्रश्वास नलीमा अवरोध आई घुर्ने समस्या उत्पन्न हुने गर्छ ।” 

घुर्ने समस्या भएका मानिसमा गहिरो निद्रा पर्दैन, थकाइ लाग्छ, दिउँसो पनि निद्रा लाग्ने, अल्छी लाग्ने, धेरै जस्तो समय मुखले सास फेर्ने, घाँटी, मुख सुख्खा हुने जस्ता शारीरिक  लक्षण देखा पर्छन् ।  

चिकित्सकका अनुसार घुर्ने मानिसले प्रायः मुखबाट सास फेर्ने गर्दछन् । विभिन्न अध्ययनले घुर्ने मानिसमा समय अगावै मधुमेह, उच्च रक्तचाप, मुटु सुनिने, मुटुका विभिन्न समस्या देखिने, मानसिक समस्या देखिने, काममा ध्यान दिन नसक्ने, आफ्नो दैनिक काममा अवरोध हुनेजस्ता शारीरिक र मानसिक समस्या निम्तिने गर्दछन् । 

घुर्ने समस्या सबै उमेर समूहमा हुन्छ । अस्पतालको ओपिडीमा साना बच्चा यस्ता समस्या लिएर बढी आउने डा. श्रेष्ठ बत्ताउनुहुन्छ । डा. श्रेष्ठका अनुसार सानो बच्चामा नाकको पछाडि भएको टन्सीले ठुलो भयो भने घुर्ने समस्या निम्तने गर्छ । एक्कासि मोटोपन बढाएर, हाइपोथाइरोजिमको कारणले, शारीरिक बनावटको कारणले गर्दा, जिब्रोको कारण, घाँटीको बनावटको कारणले घुर्ने समस्या निम्तिने गर्छ ।  

सानो बच्चामा नाक बन्द हुने, नाक बगिरहने, मुखले सास फेर्ने, काम घाँटीमा बढी इन्फेक्सन हुने, घाँटी सुक्ने, बच्चाले राम्ररी सुत्न नसक्ने, बोलीमा पनि परिवर्तन हुने जस्ता लक्षण देखिने गर्दछन् । घुर्ने समस्यालाई हेलचेक्राइँ गर्नुहुँदैन । हेलचेक्राइँ गर्दा राती सुतेको अवस्थामा श्वासप्रश्वासमा अवरोध आई मृत्युसमेत हुने गर्छ । समस्याको पहिचान गरेर उपचार गर्ने हो भने यो समस्यालाई पूर्णरूपमा निको पार्न सकिन्छ । 

धेरै जस्ता घुर्ने समस्यालाई जीवनशैली परिवर्तन गरेर निको बनाउन सकिने डा. श्रेष्ठ बताउनुहुन्छ । जीवनशैली परिवर्तन गर्न सकिएन भने पनि सुत्ने बेलामा यन्त्रको प्रयोग गरेर यसबाट हुने नकारात्मक असरलाई कम गर्न सकिन्छ । यन्त्र लगाउँदा र जीवनशैली परिवर्तन गर्दा पनि निको भएन भने समस्या पहिचान गरेर शल्यक्रिया गरे पनि यो समस्यालाई पूर्ण रूपमा निको बनाउन सन्किछ । 


भिडियोः मनोजरत्न शाही र केशव गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।