• ३० वैशाख २०८१, आइतबार

इन्टरपोलमा नेपालको भूमिका विस्तार

फरार तिस आरोपित नेपाल फर्काइए

blog

काठमाडौँ, पुस १३ गते । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ । 

ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका धनुषा औरही–५ का रजिन्द्र पासवानलाई प्रहरीले कतार प्रहरीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको छ । राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) दोहा, कतार प्रहरीसँगको समन्वयमा पासवानलाई कतारबाटै पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो ।

पासवानलगायत व्यक्तिले पीडितको माछापुच्छ्रे बैङ्ककको खातामा रहेको नौ लाख रुपियाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैङ्कको एटिएम कार्डमार्फत निकालेर प्रयोग गरेका थिए । अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पोखरास्थति सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना गरेको अभियोगमा फरार सोही सहकारीका संस्थापक अध्यक्ष जितेन्द्रबाबु (जिबी) राईसहित सहकारीका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङवरिुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ ।

कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले सहकारीको रकम हिनामिना गरी विदेशमा लुकेर बसेको आशङ्कामा डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा पत्राचार गरिएको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।  

गत बुधबार इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई पक्राउ परेका चार जना फरार प्रतिवादीलाई नेपाल फिर्ता ल्याएको थियो । जसमध्ये संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट तीन जना र कुवेतबाट एक जना नेपाल ल्याइएका हुन् । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका प्युठान सरुमारानी–१ का सगिर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको हो । 

अहमद युएईमा रहेको खुलेपछि नेपाल प्रहरीले इन्टरपोल मुख्यालयमार्फत गत भदौ २० गते रेड कर्नर नोटिस जारी गरेको थियो । अहमदविरुद्ध साइबर ब्युरो भोटाहिटीले थप अनुसन्धान अघि बढाएको छ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका स्याङ्जा वालिङ–११ भोर्लेका गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकीलाई पनि दुबईबाट पक्राउ गरी गत बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

बुढाथोकीविरुद्ध गत २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी भएको थियो । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका काभ्रेपलाञ्चोक चौरीदेउराली–८ का उमेश लामालाई कुवेतबाट पक्राउ गरी गत मङ्गलबार काठमाडौँ ल्याइएको हो ।

ठगी मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरी दुबईमा लुकेर बसेका सर्लाही साबिक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई युएईको दुबईबाट पक्राउ गरी मङ्सिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले आफ्नो सक्रियता र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै लगेका कारण नेपालमा अपराध गरेर जुनसुकै मुलुकमा लुकेर बसेका अपराधीलाई नेपाल झिकाएर कानुनी दायरामा ल्याउन थालिएको बताउनुभयो । 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार रेड कर्नर नोटिस जारी भएका आरोपितमध्ये सबैभन्दा बढी पछिल्ला दुई वर्षमा नेपाल फिर्ता ल्याइएका छन् । सन् २०२२ मा ११ आरोपित र २०२३ मा पाँच जना आरोपित नेपाल ल्याइएको छ । साढे ३३ केजी सुन तस्करीका आरोपित हरिशरण खड्कालाई  ११ जुलाई सन् २०२० मा नेपाल फिर्ता गरिएको थियो । 

सन् २०२१ मा चार जना आरोपितलाई इन्टरपोलमार्फत नेपाल झिकाइएको थियो । सुन तस्करीका आरोपित उमेश उप्रेती, मोहनकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल तथा बैङ्किङ कसुरका आरोपित केदार ढुङ्गानालाई पोर्चुगल तथा हत्याका आरोपित काजीमान गुरुङलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सन् २०२२ मा नेपालमा हत्या गरी विदेशमा लुकेका ११ जनालाई विभिन्न मुलुकबाट पक्राउ गरी नेपाल ल्याएर कानुनी दायरामा ल्याइएको छ ।

जसमध्ये हत्याका आरोपित गोविन्द मगर, भोगेन्द्रप्रसाद यादव, अशोक गुरुङ रामकुमार मगर, राजीव कुमार मण्डल, शिवशरण चौधरी रहेका छन् । यसै गरी सुन तस्करीका आरोपित प्रयास पराजुली, विदेशी मुद्राको अपचलन गर्ने नवराज सिम्खडा, बलात्कारका आरोपित कुमार धामी, सन्दीप लामिछाने, अपहरण तथा शरीर बन्धकको आरोपित सुदीप खड्कालाई पक्राउ गरी नेपाल ल्याइएको थियो । 

आफ्नो देशमा अपराध गरी नेपालमा लुकेर बसेका दुई जना चिनियाँलाई नेपाल प्रहरीले उनीहरूकै देशमा फिर्ता पठाएको छ । जसमध्ये जबरजस्ती करणीका आरोपित यु ऐहाई, तथा तोडफोडका आरोपित झाङ झोङमोउ रहेका छन् ।