गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १७ गते । कागेश्वरी मनोहरा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि तत्काल २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको थलीस्थित नगरपालिकाको कार्यालयमा आज मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले चालु आर्थिक वर्षभित्रै २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने बताउनुभयो ।
नगरप्रमुख कार्कीले अपाङ्गता भएका व्यक्तिलाई दक्षताअनुसारको काम सिकाउँदै रोजगारीसहित समाजमा सम्मानपूर्ण जीवन जिउन सक्ने वातावरण निर्माणमा नगरपालिकाले ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेनुका पौडेलले सार्वजनिक सेवाको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमताले भ्याउनेसम्मको कामका लागि अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापति पौडेलले नगरपालिकाले शैक्षिक एवम् सार्वजनिक सेवाका कार्यालयलाई अपाङ्गतामैत्री बनाउनु पर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको तर्फबाट विरोध खतिवडा र तारावदन सेंडाइले स्वास्थ्योपचार र सामाजिक सुरक्षाका लागि विशेष नीति आवश्यक रहेको धारणा राख्नुभयो ।