• १२ साउन २०८१, शनिबार

सडक दुर्घटनाको ग्राफ बढ्दो : महिनामा दुई हजारभन्दा बढी दुर्घटना

blog

काठमाडौं, पुस ११ गते । देशभर हुने सवारी दुर्घटनाको ग्राफ पछिल्लो समय बढ्दो रहेको छ । नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार यो वर्ष (२०८०/८१) को साउन महिनामा दुई हजार २३ वटा, भदौमा दुई हजार ३४, असोजमा दुई हजार ९८ र कात्तिक महिनामा दुई हजार ५३ सवारी दुर्घटना भएको तथ्याङ्क छ ।

एकातर्फ, सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित पक्षले पहल गर्दै आएको बताउने गरेपनि वर्षैपिच्छे दुर्घटना र यसबाट हुने क्षति कम हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख प्रकाशचन्द्र भण्डारीले सडक सुरक्षासम्बन्धी विभिन्न पक्षको उल्लेख गर्नुहुँदै विभागबाट इन्जिनियरिङतर्फको काम अघि बढिरहेको बताउनुभयो ।

भण्डारीले भन्नुभयो, “सडक दुर्घटना न्यूनीकरणका लागि नियमित रुपमा सेफ्टीका कामहरु आफ्नो किसिमले गरिरहेका छौं । यस सम्बन्धमा तीन–चार वटा कम्पोनेन्टमध्ये इन्जिनियरतर्फ सुरक्षित संरचना बनाउने काम हाम्रो हो ।”

दुर्घटनाबाट साउनमा एक सय ४२ जनाको ज्यान गएको छ । जसमध्ये पुरुष ११२, महिला २५, बालक चार र बालिका एक  छन् ।

यसैगरी, भदौमा पुरुष १२४, महिला ३६, बालक आठ र बालिका पाँच गरी एक सय ७३ जना, असोजमा पुरुष १०५, महिला २७, बालक १४ र बालिका दुई गरी एक सय ४८ जना र कात्तिकमा पुरुष १६५, महिला ४५, बालक चार र बालिका चार गरी दुई सय १८ जनाले ज्यान गुमाए । यस्तै, हजारौंको सङ्ख्यामा गम्भीर तथा साधारण घाइते भए ।

गत वर्ष २३ हजार बढी दुर्घटना
गत आर्थिक वर्ष २०७९/८० मा देशभर जम्मा २३ हजार ५९७ वटा सवारी दुर्घटना भएको थियो ।

सो वर्ष सवारी दुर्घटनामा २७ हजार ३९३ वटा सवारी सङ्लग्न थिए भने दुई हजार ३७६ जनाको ज्यान गयो । पाँच हजार ७३८ गम्भीर घाइते, २४ हजार ४८८ जना साधारण घाइते भए । १०२ चौपायाको मृत्यु र ३३ चौपाया घाइते भएका थिए ।

सडक सुरक्षा तथा ट्राफिक शाखाले दुर्घटना न्यूनीकरणका लागि यतिबेला विभिन्न क्षेत्रमा ‘क्र्यास बेरियर’ हरु राख्ने तथा अध्ययन–अनुसन्धानको काम भइरहेको ट्राफिक शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

सडक सुरक्षामा बजेट कम
सडक संरचना सुरक्षित नहुँदा सवारी दुर्घटना बढ्दै गएको हो कि भन्ने जिज्ञासामा उहाँले दुर्घटना रोक्ने गरी डिजाइन भए पनि एकचोटी दुर्घटना भइसकेको अवस्थामा मर्मतसम्भार तथा आवश्यक संरचना फेर्नका लागि बजेटको समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकचोटी दुर्घटना भइसकेपछि सुचारु गर्नका लागि विभिन्न अवस्था हुन्छ । मुख्य कुरा बजेटको अभाव हुन्छ, यो हुने बित्तिकै सामान फेर्न पाइएन । बजेट कम भएकाले पनि सुरक्षित सडक बनाउन समस्या हुन्छ ।”

२०७९ साउनमा १९७७, भदौमा १९१२, असोज १९६५, कात्तिक १९२८, मङ्सिर १७४३, पुस १८७३, माघ १८५०, फागुन २०७७, चैतमा १८९९ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ ।

अब दुर्घटना रोक्न के–के गर्न सकिएला भन्ने प्रश्नमा उहाँले मुख्यगरी मानिसको ज्यान जोगाउने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यातायात सुरक्षित हुन नीति नियमन गर्ने संस्थाले हेर्नपर्‍यो कति सुरक्षित गाडीहरु हामी कुदाउँछौं भनेर । दुर्घटना भइहाल्यो भने रेस्क्यु कसरी गर्ने ? दुर्घटनापछि उचित रेस्क्यु भइरहेको छ कि छैन ? उचित रुपमा अस्पताल पुर्‍याइएको छ कि छैन ? कति मान्छेको ज्यान जोगाउन सकिन्छ ?”, यससँगै अस्पतालले पनि तुरुन्त उपचार एवम् पहल गरेको छ कि छैन वा पूरा उपचार भएको छ वा छैन भनेर सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले समग्रमा, सुरक्षाका लागि काम गर्ने धेरै स्टेकहोल्डरहरु रहेको र यसका लागि सेफ्टी काउन्सिलले समन्वय गरिरहेको बताउनुभयो ।

यसैगरी, २०८० वैशाखमा २०४१ वटा, जेठ २२१८ र असारमा २११४ वटा सवारी दुर्घटना भएको थियो ।

विगत वर्षमा कनेक्टिभिटीको उद्देश्यले मात्र सडक सञ्जाल भएकाले सडक सुरक्षा मुख्य प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आजभन्दा १०, २० र ४० वर्ष अगाडि सेफ्टीको किसिमलेभन्दा पनि कनेक्टिभिटीको हिसाबले सोच्यौं । त्यसपछि डबल लेनतिर फोकस भयौं ।” अहिले सडक सेफ्टी भनेर भनिरहँदा उचित बजेट त्यसमा लगाउन नसकेको भएर परिणाम यसखाले देखिएको उहाँको भनाइ छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।