गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ । हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पक्राउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको बताउनुभयो । मुद्दा दायर भए पनि जिल्ला अदालतमा मङ्गलबारदेखि मात्र थुनछेक प्रक्रिया प्रारम्भ हुने छ । अदालतले थुनेछेकपछि थुनामै राख्न, धरौटी वा जमानतमा रिहाको आदेश गर्न सक्ने छ ।
२०७९ पुस १० मा फ्लाई दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक दावाजिन वाङको साथमा शङ्कास्पद सुटकेस बरामद भएको थियो । सामग्री नै छाडेर चिनियाँ नागरिक वाङ भागेका थिए । भन्सारमा अलपत्र उक्त सामग्री छाडिदिन महराले पटक पटक फोन गर्नुभएको अनुसन्धानमा खुलेको थियो । प्रहरी अनुसन्धानमा उक्त सुटकेसमा विद्युतीय चुरोट (भेप) भएको फेला परेको थियो । भेपमा नौ केजी ११.५२४ ग्राम सुन फेला परेको थियो ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा प्रहरीले पूरकसमेत दुई चरण अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ । उक्त प्रकरण अनुसन्धानका क्रममा २०८१ चैतमा पक्राउ परे पनि स्वास्थ्यका कारण देखाएर महरालाई बयान लिई छाडिएको थियो । समातिएको पाँच दिनमा नै महरा जमानतमा रिहा हुनुभएको थियो । अनुसन्धान अधिकारीसमक्षको बयानका क्रममा महराले चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा आफूले चिनेको र भन्सारमा रोकिएको सामान वैध भएमा छुटाइदिन आग्रह मात्र गरेको भने स्वीकार गर्नुभएको छ ।
भेपमार्फतकै सुन तस्करी प्रकरणमा महराका छोरा राहुललगायत चार जनालाई यसअघि नै मुद्दा दायर भइसकेको थियो । पूरक अनुसन्धानमा महरा तानिनुभएको थियो । महराका छोरा राहुल भने मुद्दामा पुर्पक्षका क्रममा थुनामै हुनुहुन्छ ।
बयानपछि हाजिरी जमानतमा छुट्नुभएका महरा डेढ वर्षपछि पुनः आइतबार पक्राउ पर्नुभएको थियो । जेनजी आन्दोलनपछि नयाँ सरकार गठनसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि अधुरा रहेका अनुसन्धान अघि बढाएको थियो । मन्त्री नियुक्त भएलगत्तै गृहमन्त्री ओमप्रकाश अर्यालले ब्युरोको निरीक्षणका क्रममा पुराना फाइल खोल्न निर्देशन दिनुभएको थियो । लगत्तै प्रहरीले महरालाई पक्राउ गरेको थियो ।
कति हुन्छ सजाय ?
अदालतले महरा कसुरदार ठहरेमा भन्सार र सङ्गठित ऐन दुवै कसुरमा सजाय हुन सक्ने छ । भन्सार ऐनको व्यवस्था अनुसार महरालाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने छ । तीन करोड रुपियाँभन्दा बढी बिगोको हकमा कसुरदारलाई तीनदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था भन्सार ऐनमा छ । बिगोबमोजिमको जरिवाना पनि कसुरदारलाई हुने छ ।
यस्तै सङ्गठित अपराध निवारण ऐनको व्यवस्था अनुसार महरालाई प्रचलित कानुनबमोजिम हुने सजायमा ५० प्रतिशतसम्म थप सजाय हुने छ । भन्सार ऐनको व्यवस्था अनुसारको ठहर भएको सजायमा ५० प्रतिशतसम्म थप हुन सक्ने छ । अभियोगपत्रमा अपराध पीडित संरक्षण ऐनको व्यवस्था अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।