धर्मलाल प्याकुरेल कापीमा लेखेको अक्षर पढ्न सक्नुहुन्न । उहाँले समाचार सुनेर कण्ठ गर्नुहुन्छ । अनि रेडियोबाट वाचन गरेर स्रोतासमक्ष पुर्याउनुहुन्छ ।
जुम्ला, असोज २८ गते । दृढ इच्छाशक्ति, कामप्रति समर्पण र नवीन अठोट भए जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । यसको उदाहरणका रूपमा धर्मलाल प्याकुरेललाई लिन सकिन्छ । कर्मपथमा निरन्तर सक्रिय, सिर्जनशील र सधैँ क्रियाशील उहाँको दैनिकी रेडियो ‘अनएयर’ गरेर सुरु हुन्छ । अनि राति रेडियोको प्रसारण समाप्तिको धुनसँगै उहाँको दैनिकी पूरा हुन्छ ।
स्टुडियोभित्रै लगाइएको ओछ्यानबाट जुरुक्क उठेर छामछुम गर्दै रेडियो खोल्ने र रेडियोको काम सुरु गर्ने दृष्टिविहीन धर्मलाल प्याकुरेलको जीवन सङ्घर्ष निकै प्रेरणादायी छ । अक्षर नदेखे पनि एकाबिहानैदेखि बेलुकीसम्म रेडियोको समाचार उत्पादन, वाचन तथा सूचना प्रवाह गर्नु नै उहाँको दैनिकी हो । जुम्लाको सिँजामा सञ्चालित रेडियो सिँजाखोलामा प्राविधिक कामदेखि समाचार वाचनसम्मका काम उहाँ एक्लै गर्नुहुन्छ । उदाहरणीय दैनिकीका कारण उहाँले सबैको स्यावासी पाउनुभएको छ ।
रेडियोमा प्राविधिकको काम, समाचार वाचन र कार्यक्रम सञ्चालन गर्ने जनशक्ति ठुलो छ तर अक्षर नदेख्ने व्यक्तिले कसरी समाचार पढ्छन्, कसरी समाचार सङ्कलन गर्छन् भन्ने प्रश्नको जवाफ धर्मलालको मेहनतबाट आउँछ । उहाँको आँखाको दृष्टि निकै कम छ । उहाँ कापीमा लेखेको अक्षर पढ्न सक्नुहुन्न । उहाँले समाचार सुनेर कण्ठ गर्नुहुन्छ । अनि रेडियोबाट वाचन गरेर स्रोतासमक्ष पु¥याउनुहुन्छ । रेडियोकर्मी प्याकुरेलले पछिल्ला दिनमा मोबाइल एप्समार्फत समाचार लेख्ने र घोकेर वाचन गर्ने गरेको बताउनुभयो । जुम्ला कनकासुन्दरी गाउँपालिका–७, बैदारबाडा गाउँका उहाँको आँखाको दृष्टिमा समस्या भएकाले बिहानदेखि बेलुकासम्मका रेडियो कार्यक्रम कार्यतालिका स्मरण गर्नुहुन्छ, उहाँलाई सूची पूरै कण्ठ छ ।
सिँजा गाउँपालिका नराकोटबाट एक घण्टा टाढा भुलीडाडामा सञ्चालित रेडियो सिँजाखोलाका कार्यक्रम संयोजक उमेश बुढाको समन्वयमा रेडियोकर्मी प्याकुरेलले २०८० साउनदेखि रेडियोमा काम प्रारम्भ गर्नुभयो । पत्रकार उमेश बुढाले भन्नुभयो, “दृष्टिविहीन भएर के भयो, क्षमता र लगनशील व्यक्तिले आफूलाई जुनसुकै क्षेत्रमा अब्बल साबित गर्न सक्छन् भन्ने उदाहरण धर्मलाल प्याकुरेल हुनुहुन्छ ।” सिँजा क्षेत्रकै भैरव माध्यमिक विद्यालय नराकोटमा सञ्चालित दृष्टिविहीनका लागि स्रोत कक्षाबाट उहाँले माध्यमिक तहसम्म ब्रेललिपिमै अध्ययन गर्नुभयो । सिँजाखोला रेडियोमा सुनिने प्याकुरेलको आवाज स्रोताका लागि प्रिय छ । उहाँलाई स्रोताले दिएको उत्प्रेरणाले पत्रकारिता पेसालाई निरन्तरता दिइरहनुभएको छ ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले अवसर पाएमा अपाङ्गता भएका व्यक्तिले उदाहरणीय कर्म गर्ने बताउनुभयो । उहाँले अक्षर नदेखे पनि रेडियोकर्मी प्याकुरेलले आफ्नो क्षमता, बोध र विवेकले समाजलाई सुसूचित गर्नुभएको बताउनुभयो ।