• १९ फागुन २०८१, सोमबार

वर्षासँगै हिमपात

हिउँदे बालीलाई तेलारी

blog

हिमपातपछि नर्सरीमा स्याउ र ओखरका बोटहरू हेर्दै सिमकोट–५ का किसान । तस्बिर : राजन रावत/हुम्ला

जुम्ला, फागुन १८ गते । झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ । खडेरीले सुक्दै गएको हिउँदेबालीका लागि यो वर्षा ‘तेलारी’ सरह भएको छ ।

जुम्लाको उच्च हिमाली क्षेत्रमा लामो समयपछि हिमपात भएको हो । यहाँको होचो क्षेत्रमा शुक्रबार साँझदेखि पानी परिरहेको छ । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा शनिबार २४ घण्टादेखि निरन्तर सिमसिम पानी परिरहेको छ भने डाँडाकाँडामा हिउँ परिरहेको हो । 

बालीलाई मलम 

 झन्डै छ महिनादेखि वर्षा नहुँदा हिउँदे बाली जौ र गहुँ धेरै जसो डढेर सखाप झैँ भएको छ । अहिले भने पानीसँगै हिउँ परेपछि थोरै हिउँदे बाली जोगिने हो कि भन्ने आशा किसानमा पलाएको छ । सिँजा गाउँपालिका–६ का किसान जयबहादुर बुढाले अहिले पानी आएर निकै राम्रो भएको बताउनुभयो । 

कृषि विकास कार्यालयका कृषिविज्ञ लक्षिराम महतका अनुसार यो हिउँ र पानीले आगामी बालीलाई राम्रो बनाउने छ । उहाँले अब ओखर, स्याउका बिरुवाका लागि निकै राम्रो हुने बताउनुभयो । उहाँका अनुसार यस पटक जमिनलाई पुग्ने पानी परेको छ । हिमपात र वर्षा नहुँदा सुक्खा मौसमले बालीनाली सुकेका मात्र होइन, मानिसलाई रुघाखोकी, भाइरल ज्वरोले सताउँदै आएको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार पानी नपरेका कारण रुघाखोकीका बिरामी निकै बढेका छन् । अब वातावरण पनि स्वच्छ हुने आशा गरिएको छ । 

हवाई सेवा र राजमार्ग अवरुद्ध 

हिमपातका कारण नाग्म गमगडी राजमार्गसमेत बन्द भएको छ । घुच्चीलेकलगायतका अग्ला क्षेत्रमा हिउँका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार हिउँ पन्छाउन डोजर पठाइएको छ । यसै गरी लगातारको हिउँ र पानीका कारण जुम्लामा आउने हवाई सेवा पनि सञ्चालन हुन सकेको छैन । नागरिक उड्डयन कार्यालय जुम्लाका सूचना अधिकारीका अनुसार वर्षा र हिउँका कारण शुक्रबार र शनिबार उडान हुन सकेन ।

यसै गरी हुम्ला समाचारदाता राजन रावतका अनुसार बिहीबारबाट भइरहेको हिमपात र वर्षाका कारण यहाँका किसान खुसी भएका छन् । हिउँदभर गतिलो किसिमले वर्षा र हिमपात नभएको अवस्थामा फलफूलका बिरुवा र खेतीपातीका लागि यो वर्षा उपयुक्त भएको छ । 

सिमकोट गाउँपालिका–५ का किसान गगन रोकायाले हिउँले केही दिनअघि मात्र कलमी गरेका स्याउ र ओखरका बिरुवा सप्रिनेमा चिन्ता नरहेको बताउनुभयो । धेरै किसानले व्यावसायिक फलफूल र तरकारी खेती गर्ने योजना बनाएकोमा खडेरीको कारण काम अगाडि बढाएका थिएनन् । अब भने खेती किसानी कार्य सुरु हुने छ ।

सिमकोट गाउँपालिका–२, ठेहे गाउँका किसान दल भण्डारीले गत कात्तिक महिनामा जग्गामा छरेको गहुँ, उवा र जौ कतै नउम्रेको त कतै उम्रेर पनि सुकेको अवस्थामा वर्षा र हिमपातले अब बाली सप्रिने बताउनुभयो । उहाँको गाउँमा सिँचाइ सुविधा भएको जग्गामा बाहेक अन्यत्र सबैतिर खडेरीका कारण बाली सुकेको थियो । खार्पुनाथ गाउँपालिका–१ का टक्कबहादुर शाहीले जौ, उवा र गहुँ बालीका लागि मात्र यो वर्षा राम्रो नभएर अब जोत्न पनि सहज भएको बताउनुभयो ।  

अब जमिनमा छरिएको जेठासी बाली सप्रिँदै जाने र कात्तिके बाली कोदो, चिनो, फापर, कागुनो, सिमीलगायतका बाली छर्न पनि सहज भएको उहाँले जानकारी दिनुभयो । यो हिमपात र वर्षा जिल्लाभर भएका कारण यसबाट जिल्लाभरि फाइदा पुगेको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो ।  जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार लामो समयपछि हिउँदे वर्षा भएसँगै यहाँका कृषक पनि खुसी भएका छन् । खडेरीले हिउँदे बाली सुक्न थालेपछि चिन्तित किसान पानी परेपछि खुसी भएको भेरी नगरपालिका–१ का कृषक भद्रबहादुर बटालाले बताउनुभयो । लामो समयसम्म खडेरी पर्दा हिउँदे बाली सुक्ने अवस्थामा पुगिसकेको थियो । जिल्लाको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपात र वर्षासँगै जाडो बढेपछि वृद्धवृद्धा र बालबालिका भने प्रभावित भएका छन् ।  

Author
नेत्र शाही

उहाँ गोरखापत्रका लागि जुम्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।