• २८ असोज २०८२, मङ्गलबार

मतदान गर्न आतुर देखिन्छन् युवा

blog

बुलबुले समाचारदाता

सुर्खेत, असोज २८ गते । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।

शुक्रबार निर्वाचन कार्यालय सुर्खेतमा भेटिएका वीरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय सविन भट्टराईले फागुनमै चुनाव हुने भएपछि आफू उत्साहित भएको बताउनुभयो । देश विकासका लागि योग्य उम्मेदवार छान्ने हतियार भएकाले मतदाता नामावली दर्ता गर्न आएको उहाँले सुनाउनुभयो । जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यस पटक भने आशावादी देखिएका छन् । 

वीरेन्द्रनगर नगरपालिका–११ की सविता गौतमले यसअघि भोट हालेर देश विकास नहुने सोचेर नामावलीमा नाम दर्ता नै नगरेको सुनाउनुभयो । यस पटक भने आफ्नै इच्छाले नामावली दर्ता गराएको उहाँको भनाइ छ । सोही वडाकी विनिता पन्तले पनि विगतमा आफू काठमाडौँमा बस्ने र उम्मेदवार पनि चित्तबुझ्दो नभएकाले मतदानमा रुचि नभएको बताउनुभयो । उहाँले नयाँ स्वतन्त्र उम्मेदवार वा पुराना दलभित्रकै राम्रो काम गर्ने व्यक्तिलाई रोज्ने सङ्केत गर्नुभयो ।

अहिले मतदाता नामावली दर्ता गर्न आउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा हिजोआज बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् । गएको पाँच दिनमा ४१० जनाले मतदाता नामावलीमा नाम समावेश गर्न फोटो खिचाई आवेदन दिएका छन् । जेनजी आन्दोलनपछिको निर्वाचन भएकाले युवा मतदाता बन्न इच्छुक देखिएका हुन् । १७ देखि २५ वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढी युवा मतदाताका लागि आवेदन दिन आइरहेको निमित्त प्रदेश निर्वाचन अधिकृत नन्दाराम चौलागाईंले बताउनुभयो । यस पटक नामावली दर्ता गराउन आउनेमा युवाको सङ्ख्या धेरै पाइएको उहाँले जानकारी दिनुभयो । 

असोज १०, ११, १२, २० र २१ गरी पाँच दिनमा फोटो खिचाउन आउने बढेको चौलागाईंले बताउनुभयो । असोज १३ देखि १९ सम्म दसैँ बिदामा कार्यालय बन्द रहेको थियो । अहिले भिड बढ्न थालेपछि सहजताका लागि निर्वाचन कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको उहाँले बताउनुभयो । निर्वाचन घोषणासँगै निर्वाचन आयोगले अध्यादेश ल्याएर आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।

गएको निर्वाचनमा कर्णाली प्रदेशभर कुल मतदाता १० लाख आठ हजार ४०३ जना थिए । त्यसमध्ये पुरुष मतदाता पाँच लाख १० हजार ४२० र महिला मतदाता चार लाख ९७ हजार ९८० जना थिए । गत निर्वाचनमा कर्णालीमा अन्य मतदाताको सङ्ख्या तीन जना रहेको थियो । प्रदेशमा ९३३ मतदान स्थल र एक हजार ४०३ वटा मतदान केन्द्र थिए ।