जुम्ला, फागुन ८ गते । जुम्ला सदरमुकाम खलङ्गाको बिचमा बग्ने जुगाडखोलाको दुवैतिर जुगाड कोरिडोरको काम सुरु गरिएको छ । पछिल्लो समय खोला फोहोर भइरहेकाले यो खोलालाई स्वच्छ, सफा जुगाडखोला कोरिडोर निर्माणको काम सुरु भएको हो ।
चन्दननाथ नगरपालिकाले जुगाडखोला आकर्षक र सफा बनाउन कोरिडोरको अवधारणा अगाडि बढाई काम थालेको जनाएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले जुगाडखोला सफा बनाउने अभियानको शिलान्यास गर्नुभएको छ । उहाँले यस कोरिडोरले यहाँको पर्यटन प्रवर्धन गर्न निकै ठुलो भूमिका निर्वाह गर्ने बताउनुभयो । कोरिडोर निर्माण सम्पन्नपछि जुगाडखोलाको दृश्यले मनै लोभ्याउने छ भन्दै उहाँले कोरिडोरमा पर्यटन पूर्वाधार निर्माणका लागि रेखाङ्कनसमेत सुरु भइसकेको उल्लेख गर्नुभयो । चन्दननाथ–५ स्थित खानेपानी उपभोक्ता समितिको कार्यालयनजिकैबाट कोरिडोर निर्माणको काम सुरु गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार कोरिडोर बहुवर्षीय योजना अनुसार पहिलो पटक छ करोड रुपियाँ विनियोजन गरी चालु आवमा तीन किलोमिटर कोरिडोरको काम निर्माण हुने छ । उहाँले जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने काम कोरिडोरले गर्ने भन्दै नगरपालिकाले पनि विशेष प्राथमिकतामा राखेर काम अघि बढाइसकेको बताउनुभयो ।
यता सघन सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले पहिलो चरणमा छ करोडको टेन्डर आह्वान भइसकेको जनाएको छ । कार्यालयका सबइन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दोस्रो चरणमा तीन करोड ८० लाख रुपियाँको कामका लागि सूचना हुने र त्यसको काम पनि छिट्टै थालिने छ ।
चन्दननाथ नगरपालिकाका अनुसार जुगाडखोला कोरिडोरमा स्ट्रेट लाइट, सिसी क्यामरा र बिचमा आराम गर्न मिल्ने प्रतीक्षालय बनाइने छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ–४, मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो कोरिडोर यो आर्थिक वर्षभित्रै निर्माण गरिने छ । नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले जुगाड कोरिडोर प्राथमिकताका साथ अगाडि बढ्ने जानकारी दिनुभयो । कोरिडोरभित्र पर्ने सार्वजनिक स्थानमा बनेको भौतिक संरचना हटाउन केही चुनौती भए पनि यसलाई जसरी पनि अगाडि बढाइने उहाँको भनाइ छ । नगरपालिकाले यस क्षेत्रमा पर्ने घर, संरचना उठाउन पत्राचार गरिसकेको छ । नगरप्रमुख कठायतले संरचना उठाउन नगरपालिकाले पत्र पठाइसकेको र सार्वजनिक जग्गामा निर्मित घरटहरा तत्काल हटाउनसमेत आग्रह गर्नुभयो ।