• १ साउन २०८२, बिहिबार

श्रमिकमा समर्पित ताम्रपत्र

blog

जुम्ला, साउन १ गते । श्रम र श्रमिकको सम्मान, त्यो पनि ताम्रपत्रमा नाम लेखेर ! यस्तो विषय अलि आश्चर्य लाग्ने नै हो तर सङ्घीय शासनप्रणाली अन्तर्गत गाउँमा पुगेको ‘जुम्लाको सिंहदरबार’ ले यहाँको कुलोमा श्रमदान गर्ने श्रमिकको नाम ताम्रपत्रमा लेखेर सम्मान गरेको छ । 

जुम्लाको तिला गाउँपालिका अर्थात् गाउँ पुगेको सिंहदरबार (स्थानीय सरकार) ले कुलोमा श्रमदान गर्ने व्यक्तिका नाममा तयार पारेको ताम्रपत्र अनावरण गरेको छ । तिला गाउँपालिका–४ मा रहेको छ किलोमिटर लामो बुहार, झारखेत मार्सी धान फल्ने सिँचाइ कुलो खनेर योगदान गर्ने श्रमिकको ताम्रपत्रमा नाम लेखेर सम्मान गरिएको हो । श्रमदानकर्ता र परिवारलाई नेपाली ढाका टोपी लगाइदिएर पनि सम्मानसमेत गरिएको थियो ।

तिला गाउँपालिकाले उक्त सिँचाइ कुलो निर्माण गर्ने व्यक्तिको नाममा तयार पारेको ताम्रापत्रको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले मङ्गलबार अनावरण गर्नुभयो । तिला गाउँपालिका–४, सापुल्ली, रावतवाडा र नुवाकोटगाउँका मार्सी धान फल्ने भण्डारी जिउला, सिमखेत, बुङ्गार र झार खेतका चार वटा जिउलामा सिँचाइ सुविधा दिने कुलो खनेर श्रमदान गर्ने सापुल्लीगाउँका मूल नेतृत्वकर्ता वीरबहादुर सिंह र सहायक नेतृत्वकर्ता रावतवाडाका खम्मानाथ योगी नेतृत्वमा श्रमदान गरेका ४६ जनाको नाम ताम्रपत्रमा लेखिएको छ । अरू केहीको नाम छुटेको र त्यसमा पछि थपिने बताइएको छ ।

ताम्रपत्रमा उल्लेख भए अनुसार कुलो खन्न १९६२ सालमा थालिएको हो । त्यसबेला हालको तिला गाउँपालिका–४, बुङ्गारको भिरसम्म कुलो ल्याएर छोडिएको थियो । पुनः दोस्रो पटक रावतवाडा निवासी मोतीलालनाथ योगीलगायतका व्यक्तिले केही काम गरेका थिए तर नाभीडाँडाको भिर काट्न नसक्दा कुलो पूरा हुन सकेको थिएन । 

कुलो खन्न थालेको झन्डै एक सय वर्षपछि तत्कालीन गाविस अध्यक्ष चक्रबहादुर शाहीको पहल र नुवाकोटका भक्तबहादुर चौलागाईसहितका व्यक्तिको समर्थनमा तिला–४, सापुल्लीगाउँका वीरबहादुर सिंहको नेतृत्वमा पुनः श्रमदानबाट निर्माण सुरु गरिएको थियो । बुङ्गार–नाभीडाँडा हुँदै झारखेत सिँचाइ कुलो निर्माणमा योगदान दिनेको नाम अभिलेखीकरण गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/८२ को कार्यक्रममा श्रमदानकर्ताको अभिलेखीकरण गरिएको हो । ताम्रपत्र २०८१ मङ्सिरमा नै तयार पारिएको हो ।

योगदानकर्ताका अनुसार कुलो निःशुल्क निर्माण गर्न २०५३ देखि २०६३ सम्म १० वर्ष लागको थियो । ताम्रपत्रमा उल्लेख भए अनुसार १० वर्षमा पाँच करोड तीन लाख छ हजार रुपियाँको श्रमदान भएको उल्लेख छ ।

ताम्रपत्रको अनावरण गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले अहिलेको विकासनिर्माण पैसाबाहेक अगाडि नबढ्ने भए पनि अग्रजले निःशुल्क श्रमदान गरेर गरेको अमूल्य कामको इतिहास दस्ताबेजीकरण गर्न गाउँपालिकाले ताम्रपत्रबाट सम्मान गरेको बताउनुभयो । उहाँले खेतमा सिँचाइ ल्याउन नाभीडाँडाको भिर फोर्ने बहादुर श्रमदानकर्ता अग्रज वीरबहादुर सिंहसहितको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । नाम उल्लेख गरेका केहीको निधन पनि भइसकेको छ । 

बुङ्गार–नाभीडाँडा–झारखेत सिँचाइ कुलोका श्रमदान नेतृत्वकर्ता ७५ वर्षीय वीरबहादुर सिंहले आफूहरूकोे दुःख सम्झेर तिला गाउँपालिकाले ताम्रपत्रमा नाम राखिदिएकोमा धन्यवाद दिनुभयो । उहाँले साधनविहीन अवस्थामा बाउसोले कुलो खनेको स्मरण गर्दै नाभीडाँडाको भिर फुटाल्दा आफ्नो छोरा धीरबहादुर सिंह कुलाबाट खसेको स्मरण गर्नुभयो । 

तिला गाविसका पूर्वअध्यक्ष चक्रबहादुर शाहीले अहिलेका युवाले यस्ता काममा श्रमको मूल्य बुझ्नुपर्ने सुझाव दिनुभयो । स्थानीयले अहिले बुङ्गार–नाभीडाँडा–झारखेत सिँचाइ कुलो निर्माण समिति निर्माण गरेर गाउँपालिकामा यो कामका लागि माग गरेको तिला गाउँपालिका अध्यक्ष वीरबहादुर सिंहले जानकारी दिनुभयो ।   

Author
नेत्र शाही

उहाँ गोरखापत्रका लागि जुम्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।