• २८ असोज २०८२, मङ्गलबार

तनहुँमा एक महिनापछि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सेवा सुरु

blog

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज २८ गते ।
जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँमा एक महिनाभन्दा बढि समयपछि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन सेवा पुनः सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार नेपाल सरकारले आवश्यक उपकरण पठाएपछि सेवा पुनः सुरु गर्न सम्भव भएको हो ।

“पहिले पाँच युनिटमार्फत सेवा सञ्चालन हुँदै आएको थियो, तर हाल दुई युनिटबाट मात्र सेवा सञ्चालन भइरहेको छ,” अधिकारीले बताउनुभयो । उहाँका अनुसार एक महिना सेवा रोकिँदा सेवाग्राहीको भीड अत्यधिक बढेकाले सेवा प्रवाहमा केही कठिनाइ भइरहेको छ ।

जलेर क्षतिग्रस्त भएको कार्यालय भवनका दुई कोठाको मर्मत सम्भार तनहुँ उद्योग वाणिज्य सङ्घले सहयोगमा गरिदिएकाले सेवा सञ्चालनमा सहजता आएको छ । हाल कार्यालयमा नागरिकताको सेवा सुरु भइसकेको छ भने राहदानी सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । राहदानी वितरण कार्य भने निरन्तर जारी रहेको अधिकारीको भनाइ छ । आइतबारबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राहदानी वितरण कार्य सुरु गरिएको कार्यालयले जनाएको छ ।

आन्दोलको क्रममा ध्यस्त भएका संरचनाको भग्नावशेष नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यास नगरपालिका लगायतको सहयोगमा हटाई सफा गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी निवास जलेर पूर्ण रुपमा ध्वस्त भएको थियो ।