काठमाडौँ, पुस ८ गते । सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् । त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनले हरायो । सुदूरपश्चिमको यो दोस्रो जित हो । कर्णालीले लगातार तेस्रो हार खेपेको छ ।
जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७० रन बनायो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो ।
यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । बागमतीको यो दोस्रो जित हो । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमतीले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा चार विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।