काठमाडौँ, जेठ ५ गते । स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशी चम्केपछि नेपालले सोमबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डलाई सजिलै छ विकेटले हराएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो । नेपालले सामान्य लक्ष्य ३८.१ ओभरमा चार विकेटको क्षतिमा १९९ रन बनाएर हासिल गर्यो । नेपालका लागि यो जित बदला पनि भएको छ । यस शृङ्खला अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लुइसको नियम अनुसार दुई रनले पराजित गरेको थियो । चालु शृङ्खलामा नेपालको यो तीन खेलको दोस्रो जित हो । पछिल्लो खेलमा नेपालले अमेरिकालाई सहजै नौ विकेटले पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल अमेरिकाविरुद्ध शुक्रबार खेल्ने छ ।
नेपाल जितसँगै आठ राष्ट्र सहभागी प्रतियोगिताको अङ्क तालिकामा दुई स्थान माथि उक्लँदै पाँचौँ स्थानमा रहन सफल भएको छ । नेपालले २७ खेलबाट १० जित, १५ हार र दुई अनिर्णीत खेलसहित २२ अङ्क बनाएको छ । नेपालभन्दा पछाडि नामिबिया (२२ अङ्क), क्यानडा (२१ अङ्क) र संयुक्त अरब इमिरेट्स (१४ अङ्क) रहेका छन् । नेपालभन्दा माथि स्कटल्यान्ड (३८ अङ्क), अमेरिका (३६ अङ्क), ओमान (३१ अङ्क) र नेदरल्यान्ड्स (२८ अङ्क) छन् ।
विश्वकप लिग–२ २०२३–२४/२०२७ ‘साइकल’ मा नेपालले अझै नौ खेल खेल्न बाँकी छ । जसमध्ये नेपालले अब एक खेल मात्र घरेलु मैदानमा खेल्ने छ । शीर्ष चारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन नेपाललाई बाँकीका सबै खेल जित्नुपर्ने बाध्यता छ । यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष छ स्थानमा अटाए पुग्ने प्रावधान पनि रहेको छ ।
सन्दीपको कीर्तिमान
स्पिनरले मिलेर आठ विकेट निकालेपछि स्कटल्यान्डको पालि धराशायी भएको हो । ललितले चार र सन्दीपले तीन विकेट हासिल गर्नुभयो । सन्दीपले ब्रेन्डन म्याकमुलनलाई क्याच आउट गराएर १५० औँ ओडिआई विकेट लिनुभयो । उहाँ सर्वाधिक छिटो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सर्वाधिक १५० विकेटको कोसेढुङ्गा छुने बलर बन्नुभएको छ । सन्दीपले ७३ खेलमा १५० विकेटको कोसेढुङ्गा छुनुभएको हो । यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ खेलमा १५० विकेट हासिल गर्नुभएको थियो । एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडै एक सय विकेट लिने बलरको कीर्तिमान पनि सन्दीपकै नाममा रहेको छ । सन्दीपले खेल्न सुरु गर्दा देशका लागि केही गर्ने सपना थियो, त्यसमा केही सफल भएकोमा खुसी छु, भन्नुभयो । सन्दीपले कुल तीन विकेट लिएर आफ्नो ओडिआई विकेट सङ्ख्या १५१ पु¥याउनुभएको छ ।
“यस सफल क्रिकेट यात्रामा धेरै जनाको हात छ, म सबैलाई धन्यवाद दिन चाहन्छु,” सन्दीपले भन्नुभयो । यसै गरी स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले सन्दीपले हासिल गरेको उपलब्धि अविश्वसनीय भएको र विश्वस्तरीय बलर सन्दीपको सामना गर्नु कुनै पनि ब्याट्सम्यानलाई सधैँ चुनौतीपूर्ण हुने बताउनुभयो ।
ललित ५० विकेटको कोसेढुङ्गामा
नेपालका लागि पहिलो विकेट भने दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो । उहाँले प्रारम्भिक ब्याट्सम्यान फिन्ले म्याकक्रथलाई छ रनमा एलबिडब्लु आउट गर्नुभयो । सो विकेटपछि जर्ज मुन्से र म्याकमुलनले दोस्रो विकेटका लागि ५३ रनको साझेदारी निर्वाह गरी नेपाललाई तर्साएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बलमै मुन्सेलाई २१ रनमा बोल्ड गरी नेपाललाई खेलमा फर्काउनुभयो । त्यसपछि ललितले कप्तान रिची बेरिङ्टनलाई १२ रनमा बोल्ड गर्नुभयो । तीन खेलपछि विकेट लिन सफल ललितले सो विकेटमा मात्र चित्त बुझाउनुभएन । उहाँले सानदार पुनरागमन जनाउने क्रममा पुछारका तीन ब्याट्सम्यान माइकल लिस्क (१), ओलिभर डेभिडसन (०) र ओली जोन्स (२) लाई आउट गरेर स्कटल्यान्डको पालि चाँडै समाप्त पार्नुभयो । यस क्रममा ललितले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोसेढुङ्गा छुनुभएको छ । ललित नै ‘म्यान अफ दी म्याच’ चुनिनुभयो ।
यसबिच स्कटल्यान्डका लागि म्याकमुलनले ७३ रनको सानदार पालि खेल्नुभयो । उहाँले ४४ बलको सामना गरी छ चौका र छ छक्का प्रहार गर्नुभएको थियो । स्कटल्यान्डका लागि उल्लेखलायक पालि खेल्ने अर्का ब्याट्सम्यान माइकल इङ्ग्लिस हुनुहुन्थ्यो । उहाँ ५१ रन बनाएपछि नन्दन यादवको बलिङमा आउट हुनुभयो ।
ईशानको पहिलो र रोहितको १२ औँ अर्धशतक
कप्तान रोहित पौडेल र ईशान पाण्डेले अर्धशतकीय पालि खेलेपछि नेपालले सजिलै लक्ष्य भेटायो । ईशानले आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमै अर्धशतक प्रहार गर्नुभयो । ईशानले ६१ बलमा ५५ रन बनाउनुभयो । कप्तान रोहित ९८ बलमा ७४ रन बनाएर अविजित रहनुभयो । यी दुवै ब्याट्सम्यानका पालिमा पाँच चौका र दुई छक्का सामेल थियो । रोहितको यो १२ औँ ओडिआई अर्धशतक भएको छ ।
ईशान र रोहितले १०४ रनको साझेदारी गरी स्कटल्यान्डको खेलमा फर्किने सम्भावना समाप्त पार्नुभएको हो । यसअघि राम्रो सुरुवात दिलाएका कुशल भुर्तेल र आसिफ शेख फटाफट आउट भएपछि नेपाल केही दबाबमा परेको थियो । भुर्तेल र आसिफले ५८ रनको साझेदारी गर्नुभएको थियो । आसिफ १७ बलमा २९ रन बनाएर रनआउट हुनुभयो । भुर्तेलले २८ रन बनाउनुभयो । यसै गरी दीपेन्द्रसिंह ऐरी भने दुई रनमै आउट हुनुभयो । खेल सकिँदा रोहितसँगै आरिफ शेख (८ रन) क्रिजमा हुनुहुन्थ्यो । स्कटल्यान्डका लागि मार्क वाटले दुई तथा म्याकमुलनले एक विकेट लिनुभयो ।