काठमाडौं, पुस ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।