• २७ पुस २०८१, शनिबार

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, पुस ७ गते । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताउनुभएको छ ।

शनिबार दिउँसो माओवादी केन्द्रको बुढानीलकण्ठको नगर सम्मेलन उद्घाटन गर्नुहुँदै  प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरूहरूले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरू हाम्रै पालामा भएका छन् । मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्त्वका काम गरेको छु । तर हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौँ । विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौँ ।’’

प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्त्वपूर्ण कामहरू भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पूर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरू अगाडि सारियो । विकासका ठुलठुला आयोजनाहरू सञ्चालनमा आए । प्रत्येक गाविसमा सहकारी निर्माण गरियो । दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो । अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्ने बताउनुभयो ।

सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिनुभयो ।