• १३ असोज २०८१, आइतबार

माया, प्रेम र भावनाको कथा ‘द आर्चिज’

blog

काठमाडौँ, पुस ६ गते । बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्यो पनि पुरानै शैलीमा बन्यो भने कस्तो होला ? निर्देशक जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘द आर्चिज’ कमिक्स किताबको संस्करण हो । शाहरुख खानकी छोरी सुहाना खान, बोनी कपुर–श्रीदेवीकी छोरी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले यसै चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । चलचित्र ६० को दशकको मित्रता, प्रेम र भावनाको कथा हो । चलचित्रमा एङ्ग्लो–इन्डियनको अनेकन भाइब्स सुन्दर रूपमा देख्न सकिन्छ ।

चलचित्र आर्ची एन्ड्रयुज (अगस्त्य नन्द) ले काल्पनिक सहर रिभरडेलको इतिहास बताउँदै सुरु हुन्छ । उत्तर भारतमा अवस्थित सहरमा ठुलो सङ्ख्यामा एङ्ग्लो इन्डियनहरू छन् । आर्चीका सात साथी बेट्टी (खुसी कपुर), भेरोनिका (सुहाना खान), जुगहेड (मिहिर आहुजा), रेगी (वेदाङ रैना), एथेल (डट) र डिल्टन (युवराज मेन्डा) समूह छ । जसले आफूले बुनेका भविष्यका अनेकन सपना रमाइलोसँग बिताइरहेका छन् ।

बेट्टी आर्चीलाई प्रेम गर्छन् तर भन्न सकिरहेका हुँदैनन् । यता आर्चीले भेरोनिकालाई मन पराउँछन् । अर्कोतर्फ भेरोनिकाका बुवा (अली खान) रिभरडेलको प्रसिद्ध ग्रिन पार्कलाई मलमा परिणत गर्न चाहन्छन् । रिभरडेलमा धेरै परिवर्तन पनि भइरहेका हुन्छन् । जसले भेरोनिकाको बुवाका कारणले सबैलाई अप्ठ्यारो पर्छ । यस्तो अवस्थामा सबैले उनीसँग शत्रुता बनाए पनि अन्त्यमा मित्रताको जित हुन्छ । भेरोनिका आफ्ना सबै साथीसँग आफ्नो बुवाका विरुद्धमा जान्छिन् र उनीहरूसँगै हिल स्टेसन बचाउने प्रयास गर्छन् । समग्रमा भन्ने हो भने चलचित्र स्कुलका साथीको समूहको कथा हो । जसमा हास्यबाहेक मिठा र तिता उतारचढाव बुनिएका छन् ।

शाहरुख खानकी चञ्चल छोरी सुहाना खान, जान्ह्वी कपुरकी बहिनी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले ‘द आर्चिज’ बाट आफ्नो अभिनय सुरु गरेका छन् । सुहाना र खुसीले आफ्नो अभिनयबाट अवश्य नै दर्शकलाई प्रभावित बनाउँछन् । त्यस्तै विनय पाठक र अली खानको चलचित्र दर्शकले अवश्य रुचाउँछन् र जोया अख्तरले चर्चित कमिक सिरिज बनाउन निकै मेहनत गरेकी छिन् र कथालाई राम्रोसँग प्रस्तुत गरेकी छिन् । ‘गली ब्वाय’, ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘तलास’ जस्ता बलिउडका अनुभवी कलाकारसँग काम गरिसकेकी जोया पहिलो पटक पूर्ण रूपमा नयाँ प्रतिभा लिएर आएकी  र  आफ्नो निर्देशनको जादुले बलिउडको नयाँ प्रतिभालाई सदुपयोग गर्न सफल पनि भएकी छिन् । रिभरडेल हिल स्टेसन, रेट्रो कार र एङ्ग्लो इन्डियन भाइब्सले चलचित्रलाई अझ यथार्थवादी बनाउँछ । ‘द आर्चिज’ लाई युवा दर्शकले अवश्य मन पराउने छन् । साथै चलचित्रका दुई गीत ‘सुनो’ र ‘वा–वा भरुम’ पनि अवश्य रुचाउने छन् ।