• १९ चैत २०८२, बिहिबार

गाईपालनप्रति युवाको आकर्षण बढ्दो

blog

मकरीमा राममणि न्यौपानेले पाल्नुभएको गाई । तस्बिर: अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत १९ गते ।
मकवानपुरको मनहरी गाउँपालिकामा गाईपालनप्रति युवाको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले दुधको भुक्तानीको जिम्मा लिएसँगै गाईपालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । मनहरी–१ मकरीमा मात्रै दैनिक तीन हजार लिटरभन्दा बढी दुध सङ्कलन हुँदै आएको छ ।

यहाँबाट दुध बिक्री गरी मासिक ६८ लाख रुपियाँभन्दा बढी रकम भित्रिने गरेको छ । गाउँपालिकाले डेढ वर्षअघि दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरी दुध खरिद सुरु गरेपछि किसानले समयमै भुक्तानी पाउन थालेका छन् । यसले युवाहरुलाई गाईपालनतर्फ आकर्षित गरेको हो ।

मकरी–१ का ३३ वर्षीय राममणि न्यौपानेले करिब आठ लाख रुपियाँ लगानीमा पाँच वटा होलिस्टेन गाई पालेर व्यवसाय सञ्चालन गर्नुभएको छ । उहाँले दैनिक ५० लिटर दुध बिक्री गरी मासिक एक लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ भने सबै खर्च कटाएर करिब ५० हजार रुपियाँ बचत गर्न सफल हुनुभएको छ । आफैसँग रहेको बचत रकमबाट गाईपालन थाल्नुभएका न्यौपानेले भविष्यमा २० वटा गाई पु¥याउने लक्ष्यका साथ काम गरिरहनुभएको छ ।

उहाँले १२ कठ्ठा क्षेत्रफलमा गाईका लागि कमैचरी र सुपर नेपियर जातको घाँस समेत लगाउनुभएको छ । गाईपालनसँगै उहाँले २३० बोट सुनकागती पनि लगाउनुभएको छ । बस्तुको मलको प्रयोग गरेर कागती लगाउनुभएका न्यौपानेले आगामी वर्षदेखि कागतीबाट पनि आम्दानी प्राप्त हुने विश्वास लिनुभएको छ ।  

त्यस्तै, रामकुमार खड्काले व्यावसायिक रुपमा गाईपालन गर्दै मासिक करिब दुई लाख ५० हजार रुपियाँ बराबरको दुध बिक्री गर्दै आउनुभएको छ । सबै खर्च कटाएर उहाँले करिब डेढ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । उहाँले आफ्नो फार्ममा एक जनालाई रोजगारीसमेत दिनुभएको छ ।

साउदी अरब जान खोज्दा मेडिकलमा असफल भएपछि स्वदेशमै केही गर्ने उद्देश्यले रामकुमार उप्रेतीले गाईपालन सुरु गर्नुभएको हो । उहाँले पाँच लाख रुपैयाँ लगानीमा चार वटा गाई पालेर एक जनालाई रोजगारी दिनुभएको छ ।

त्यसैगरी, २३ वर्ष भारतमा सवारी चालकको रुपमा काम गरी कोरोना महामारीपछि स्वदेश फर्केका देवराज न्यौपानेले पनि गाईपालन व्यवसाय अपनाउनुभएको छ । उहाँको गोठमा हाल १३ वटा गाई छन् । दुध बिक्रीबाट उहाँले वार्षिक करिब १० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

मकरीकै विशाल उप्रेतीले पनि साढे चार लाख रुपियाँ लगानीमा चार वटा गाई पाल्नुभएको छ । दुई महिनाअघि मात्र व्यवसाय सुरु गर्नुभएका उहाँले प्रति गाई मासिक २० हजार रुपियाँभन्दा बढी नाफा लिन सफल हुनुभएको छ । पालिकाले मासिक रुपमा दुधको भुक्तानी दिनेभएपछि ड्राइभिङ पेशा छाडेर उहाँ गाउँ फर्केर गाई पालन गर्न थाल्नुभएको हो ।

हाल मनहरी गाउँपालिकामा दैनिक करिब १४ हजार लिटर दुध सङ्कलन हुँदै आएको छ । स्थानीय तहले दुध खरिद, समयमै भुक्तानी तथा अनुदान जस्ता कार्यक्रम ल्याएपछि मनहरीसहित बकैया र बागमती गाउँपालिकामा पनि गाईपालन व्यवसाय विस्तार हुँदै गएको छ ।