• १९ चैत २०८२, बिहिबार

करिब एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

blog

म्याग्दी, चैत १९ गते ।  रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहर बजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुपर्ने बाध्यता थिएन् । 

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रूपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पस्नुभएको छ ।  “युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,” उहाँले भन्नुभयो “आफ्नो जन्मिएको ठाउँमा पनि केही गराैँ । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर व्यावसायिक भेडाबाख्रा पालेको हो ।”

हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पुँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँका परिवार र आफन्त पोखरामा बसोवास गर्नुहुन्छ । उहाँ भने छ सय भेडा चराउँदै हिउँदमा बेँसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गर्नुभएको छ । 

“असोजमा बेसी झारेको भेडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखे,” उहाँले भन्नुभयो “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्‍याउछाैँ ।” सहर बजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेँसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाउनुभयो । 

एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिनुभएको छ ।  करिब एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक ३० देखि ४० लाखको भेडाबाख्रा बिक्री हुने बताउनुभयो । 

मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ । भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।  

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ । घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पाल्नुभएको छ । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनिसँगै पाल्नुभएको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताउनुभयो । रासस