• १२ साउन २०८१, शनिबार

ग्रामीण भेगमा जल सङ्कट

blog

बर्दीबास समाचारदाता

बर्दीबास, मङ्सिर १३ गते। जिल्लाको भूजलस्तर घट्नाले महोत्तरीको ग्रामीण भेगमा पानीको सङ्कट देखा परेको छ । केही वर्षअघिसम्म गर्मीयाम लागेपछि देखा पर्ने जल सङ्कटले अब वर्षभरि नै सताउन थालेको गाउँलेको भनाइ छ । 

धारा इनार सुक्नाले बर्दीबास–१३, बिजलपुराको दैनिकी नै फेरिएको छ । यस गाउँमा दुई सय परिवारको बसोबास छ । गाउँका सबैजसो घरआँगनमा अहिले पनि कलधारा र इनार देखिन्छन् । त्यसको पानी भने सुकेको छ । स्थानीयवासीका अनुसार गाउँमा बाजेपुर्खाले खनेका १० वटा परम्परागत इनार नै छन् । ती सबैमा मनलाग्दी पानी आउँथ्यो । गाउँका रामकिसुन चौधरीको पनि आँगनमै इनार छ । त्यो इनार पनि सुकेपछि परिवारमा नयाँ समस्या थपिएको छ । आँगनको इनार सुकेदेखि गाग्रो, ग्यालन बोकेर डेढ किलोमिटर उत्तरबाट पानी ल्याउनुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो । 

गाउँका ५५ वर्षीय योगेन्द्र यादवका अनुसार बिजलपुराका आँगन र खेतमा गाडिएका दुई सय बढी धाराबाट दुई वर्षदेखि पानी आउन छाडेका छन् । सुकेका धारा र इनारलाई गाउँलेले मर्मत गर्ने प्रयास पनि गरे तर ती कुनैमा पनि पानी नपलाएको गाउँलेको भनाइ छ । 

स्थानीय चन्देश्वर चौधरीले बिजलपुराको भूजलस्तर अप्रत्याशित ढङ्गमा घटेकाले गाउँमा जल सङ्कट देखा परेको बताउनुभयो । यसअघि ५० देखि ६० फिट गहिराइका धारा इनारबाट प्रशस्त पानी आउँथे । अहिले भने गाउँको भूमिगत जलस्तर घटेर १२० देखि १५० फिट तल पुगेको उहाँले बताउनुभयो । “पानीको सतह घटेर निकै तल पुगेकाले एकातिर पुराना पधेँराजति सबै सुके भने पहिले झैँ नयाँ धारा गाडन सहज नभएकाले बिजलपुराका लागि पानी टड्कारो समस्या बनेर देखापरेको हो,” उहाँले भन्नुभयो । 

आँगनका पानीपँधेरा सुकेपछि बिजलपुराबासीलाई तिर्खा मेट्न करिब डेढ किलोमिटर उत्तरको डिप बोरिङसम्म पुग्नुपर्ने बाध्यता आइलागेको छ । बर्दीबास नगरपालिकाले गाडेको यो डिप बोरिङ पूरै गाउँको एक मात्र पँधेरो भएकाले पानी लिन पालो पर्खनुपर्ने विवशता छ । अर्कोतर्फ लाइन गएपछि धारामा समस्यै समस्या थपिन्छ । “बत्ती कटेपछि एक गाग्रो पानीका लागि घण्टौँसम्म कुर्नुपर्ने बाध्यता छ,” चन्देश्वर चौधरीले गाउँलेको पीडा पोख्नुभयो, “तिर्खा मेट्न साह्रै गाह्रो भो यहाँ ।” 

भूजलस्तर घट्नाले खानेपानीको मात्र समस्या परेको छैन । कृषि उत्पादनमा समेत ह्रास आएको गाउँलेको भनाइ छ । यसअघि बिजलपुरा गाउँ हरियो तरकारीको पकेट क्षेत्र थियो । स्थानीय किसानका अनुसार त्यतिबेला खेत खेतमा बोरिङ थिए । यहाँ उत्पादित तरकारीले किसानको जीवनस्तर उकासेको थियो । पानी अभावले उत्पादन हुन छाडेको तरकारी कृषक घनश्याम महतोले बताउनुभयो । यसअघि डेढ बिघामा मौसमी तरकारी गर्दा वर्षको पाँच देखि छ लाख रुपियाँसम्म आम्दानी गरेको उहाँले सम्झनुभयो । उत्पादन हुन छाडेपछि उहाँको तरकारी खेती पाँच कट्ठामा झरेको छ । 

“चिस्यान नहुँदा मेहनत अनुसार फल्न छाडेपछि सब्जी खेती नै छाड्ने सोच बनाएको छु,” महतोले भन्नुभयो । गाउँमा पानीको सतह किन घट्यो अध्ययन भएको छैन । गाउँलेको बुझाइमा भने बर्दीबासमा स्थापित सैनिक पृतनाको सुरक्षाका लागि गाउँ पूर्वको रातु खोलामा दुई वर्षअघि तटबन्ध बाँधेदेखि बिजलपुरामा जल सङ्कट देखापरेको हो । “तटबन्धले रातुको पश्चिमी मुहान छेकेदेखि तटवर्ती गाउँ बिजलपुरामा पानीको समस्या देखापरेको हो,” स्थानीय विपिन चौधरीले भन्नुभयो । पानी समस्या समाधानका लागि स्थानीयवासीले नगरपालिका गुहार्दै आएका छन् । 

बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले सुक्खाग्रस्त बिजलपुराको सोमबार स्थलगत अवलोकन गरी जल समस्या समाधानबारे गाउँलेसँग छलफल गर्नुभयो । उहाँले नगर क्षेत्रमा पानीको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रूपमा काम अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार सुक्खाग्रस्त क्षेत्रका सम्भावित स्थानमा डिप बोरिङ जडानका लागि प्राविधिकको परामर्शमा काम अगाडि बढेको छ । अर्कोतर्फ जल सङ्कटको दीर्घकालीन समाधानका लागि नगरपालिकाले चुरे संरक्षणमा ध्यान केन्द्रित गरेको उहाँले जनाउनुभयो ।