• २७ पुस २०८१, शनिबार

विकासका लागि तीनै तहका सरकार एकजुट हुनुपर्छ : उपप्रधानमन्त्री खड्का

blog

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का।

काठमाडौं, मङ्सिर १२ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। 

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राख्नुभयो।

“विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।”

उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो । उहाँले संसदको आउँदो हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गर्नुभयो।

उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताउनुभयो।  

वर्तमान गठबन्धन  सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उहाँको भनाइ  थियो। 

उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गर्नुभयो।