• २९ वैशाख २०८१, शनिबार

सङ्घीय सरकारसँग सहकार्य मात्रै हैन सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार काकी । तस्बिरः मुख्यमन्त्रीको निजी सचिवालय

विराटनगर। मङ्सिर १२ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ। मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। 

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ। हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ। त्यसैले अहिलेको सरकारले सङ्घ सरकारले समन्वय मात्रै नभई आफ्ना अधिकार स्थापित गर्न सङ्घर्ष पनि गर्दछ।’’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो। ‘‘हामीले काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दैछौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, सङ्घले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ।’’

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको देवीले तीनै तहको सरकारबिच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताउनुभयो। 

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय सङ्घीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारको प्रयोग हुन नसकेको बताउनुभयो। 

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। 

सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ।