• २१ वैशाख २०८१, शुक्रबार

बसाइसराइ रोक्न तीन वटै सरकार सजक हुनुपर्छ : स्वास्थ्यमन्त्री

blog

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा आयोजना गरिएको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरणसम्बन्धी परिसंवाद कार्यक्रम उपस्थित मन्त्री बस्नेतलगायतका पदाधिकारी ।

काठमाडौं, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।

मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा मङ्गलबार राजधानीमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइसराइको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउनुहुँदै यसलाई बेलैमा व्यवस्थापन गर्न नसकिए समस्या निम्ताउने बताउनुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, “बसाइसराइ व्यवस्थापन गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन । यसमा राज्यका तीन वटै सरकारको सहकार्य आवश्यक छ । जनसङ्ख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नुपर्छ ।”


हिमाल र पहाडबाट जनसङ्ख्या सहरी क्षेत्रमा बसाइसराइ बढ्दै जाने र सहरी क्षेत्रमा जनसङ्ख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकाले यसको समाधानमा अहिले देखिनै सरोकारवाला लाग्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो ।

चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको दाबी गर्नुहुँदै निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बताउने दाबी मन्त्री बस्नेतले गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले नेपालीको औषत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका विषयमा पनि विज्ञहरूले चासो राख्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव डा.टङ्क वाराकोटीले सरकारले अगामी १६ औँ पञ्चवर्षीय योजनामा यो विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकमाथि जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताउनुहुँदै राज्यले बसाइसराइलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बसाइसराइ व्यवस्थित सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।