• १२ साउन २०८१, शनिबार

पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन

blog

कुस्मा समाचारदाता

कुस्मा (पर्वत), मङ्सिर १२ गते । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि इन्जिनियरविहीन बनेको छ। जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम नै प्रभावित भएको छ। 

तीन जना इन्जिनियर सातौँ/आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली छन्। जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेको हो। सबइन्जिनियर अधिकृतस्तर पाँचौँ/छैटौँको सात वटा दरबन्दीमा दुई जना मात्रै कार्यरत छन्। 

कार्यालय प्रमुख गुरुदत्त अधिकारी भन्नुहुन्छ, “सीमित जनशक्तिले डिटेल स्टिमेट तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको छ। बिहान र बेलुका नभनी कार्यालयको काम गर्दासमेत भनेको समयमा निर्माण कार्यको भने जस्तो गरी समयमा मूल्याङ्कन र निरीक्षण गर्नसमेत सक्ने अवस्था छैन।” उहाँका अनुसार कतिपय सडक निर्माणको सम्झौता गरेका ठेकेदारलाई ठेक्का सम्झौता रद्द गर्ने दबाब दिएपछि मात्रै काममा फर्केका छन् । योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीन जना सबइन्जिनियरलाई काममा लगाइएको प्रमुख अधिकारी बताउनुहुन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नु परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधर विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्यामा कार्यालय सहयोगी दुई जनासहित गरी जम्मा आठ जना मात्रै छन्। 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार जिल्लामा नौ वटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा आरसिसी पुल बन्दै गरेका छन्। चार वटा आरसिसी पुलमध्ये लिदीखोला सडक पुल राम्जा र छत्तीसघाट सडक पुल पैयुँ गरी दुई वटा पुल निर्माणाधीन छन्। अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको अवस्था छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी १७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् ।

यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रकमको बजेट विनियोजित छ। पूर्वाधार विकास कार्यालयको मुख्य भौतिक प्रगति विवरण अनुसार अहिलेसम्म ८१.३७ किमी पक्की सडक, ग्राभेल सडक ३४.७ किमी र माटे सडक १७.५७ किमी सम्पन्न भइसकेको छ। दक्ष प्राविधिक जनशक्तिको अभावले विकास निर्माणका गतिविधिलाई तीव्र गति दिन नसक्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।