• २१ असार २०८१, शुक्रबार

परम्परागत कला झल्काउने मेला सुरु

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर १२ गते । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि  सांस्कृतिक मेला सुरु भएको हो । 

कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।” 

कात्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चर्तुमास समापनपछि शुभकार्यको थालनी गर्ने चलन रहिआएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइतहरू सुरु हुने पण्डित पाठकले बताउनुभयो । चतुर्मासका कारणले रोकिएका विवाह तथा व्रतबन्धहरू अनि ठुला पूजाआजा सबै सुरु हुन्छन् । पूर्णिमाको अवसरमा राप्ती नदीको सिधनियाघाटमा भव्य मेला लागेको छ । मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाचगानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताउनुभयो । 

उहाँका अनुसार भारतबाट करिब २० जना कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गरिरहेको छ । मेलामा साधुसन्तहरूको समेत उपस्थिति रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ । 

यसै गरी बाँकेको जानकी र राप्तीसोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा तीनदिने मेला सञ्चालन भएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रीवस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्छन् । 

मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताउनुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिका–२, टिकुलीपुरमा पनि प्रत्येका वर्ष तीन दिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२, टिकुलीपुरमा सोमबारदेखि डिग्रे मेला सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिनुभयो ।