• २३ वैशाख २०८२, मङ्गलबार

जनताले विस्थापित गरेको प्रणाली अब फर्कने सम्भावना छैन : देवेन्द्र पौडेल

blog

देवचुलीमा सोमबार भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल । तस्बिर : गोरखापत्र

बोमलाल गिरी

नवलपुर, मङ्सिर ११ गते । नेकपा माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनताले विस्थापित गरिसकेको प्रणाली अब फर्कने सम्भावना नरहेको बताउनु भएको छ । 

देवचुलीमा सोमबार भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनताले विस्थापित गरेको प्रणाली अब फर्कने सम्भावना नरहेको बताउनु भयो । राजतन्त्र फकाउँछौं भनेर केही व्यक्ति लागे पनि त्यो अब सम्भव नभएको उहाँको भनाइ थियो । 

‘गणतन्त्र त्यसै आएको होइन, हजारौंको त्याग, तपस्या र बलिदानीले शाहवंशीय राजतन्त्रको अन्त्य भ मुलुकमा गणतन्त्र आएको हो, पौडेलले भन्नुभयो, ‘अब कसैको लहडले गणतन्त्र उल्टिन सम्भव छैन, बरू गणतन्त्रलाई अझ बलियो बनाउने प्रणाली ल्याउन लड्नुपर्छ ।’ 

माओवादीले उठाएको समावेशिता, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक प्रणालीलगायतका मुद्दा नै अहिले चलिरहेकोले यसलाई उल्टाउन विभिन्न चलखेल भईरहेको उहाँको भनाई थियो । उहाँले पार्टी कमजोर हुँदै जाँदा यस्ता चलखेल बढ्ने भएकाले सबै एकजुट भएर पार्टी बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । मिटरव्याजसम्बन्धी विधेयक बनिसकेकाले यसमा अप्ठ्यारो परेका पीडितहरूलाई खोजी सहजीकरण गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

माओवादी केन्द्र नवलपुरका संयोजक कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमर तमु, केन्द्रीय सदस्य भगवती तिवारी, प्रकाश न्यौपाने, बालकृष्ण रानाभाट, सुष्मा खनाल, केन्द्रीय सल्लाहाकार सदस्य ठाकुर चापागाई, केन्द्रीय लेखा आयोगका सदस्य लोकप्रसाद भूर्तेल, ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य धर्मबहादुर केसी, दुर्गा भुसाललगायत जिल्लाका सबै पालिकाका अगुवा कार्यकर्ताको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।