• २७ पुस २०८१, शनिबार

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

blog

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ बैठकलाई सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, मङ्सिर १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधामन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘‘पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकता एवम् अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यान केन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम चुनौती र समस्याको समाधानका लागि सोच्नुपर्दछ ।’’

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दिगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘‘प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ । तसर्थ, सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालयहरू केन्द्रित हुनुपर्दछ ।’’

प्रधानमन्त्री प्रचण्डले खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा–बैठकमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन पूर्णपाठ
पूर्वाञ्चल विश्वविद्यालय सभाको सैँतीसौँ सभा–बैठकमा कुलपतिको हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ ।

यस विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधा ज्ञापन गर्दछु। यस अवसरमा पूर्वाञ्चल विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु ।

विश्वविद्यालयका उपकुलपतिले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने विश्वास लिएको छु । उपकुलपतिले नीति तथा कार्यक्रममार्फत उठाउनुभएका विषयहरूमा सहकुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँगको परामर्श र समन्वयमा अगाडि बढाई कार्यान्वयनमा सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकता एवम् अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यान  केन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको छ । देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम चुनौती र समस्याको समाधानका लागि सोच्नुपर्दछ ।

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दिगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ । प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ । तसर्थ, सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालयहरू केन्द्रित हुनुपर्दछ ।

खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ । यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याहरूको समाधान र ऐनको समयाकुल परिमार्जन र संशोधनका लागि समेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

उच्चशिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्धन र कृषिक्षेत्रमा यान्त्रीकरणको प्रयोगमार्फत् देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ । त्यसैगरी अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनहरूका बारेमा समेत सूक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कार्यमा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने मैले विश्वास लिएको छु ।

अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयले यस सैँतीसौँ सभाले गरेका निर्णयहरूको रचनात्मक र दृढ कार्यान्वयनको निर्देशनसहित सभा विसर्जन गर्दछु । धन्यवाद ।