• २६ वैशाख २०८२, शुक्रबार

केही तत्त्व अराजकता मच्चाउन खोजेको छ : नेता निधी

blog

धर्बेन्द्र झा

जनकपुरधाम, मङसिर ९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति केही तत्त्वले अराजकता मच्चाउने प्रयास गरिरहेको बताउनुभएको छ । कांग्रेस धनुषा क्षेत्र ३ क्षेत्रीय समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले केही अराजक तत्त्वहरू संविधान र वर्तमान शासन व्यवस्थाविरुद्धमा विभिन्न खालका क्रियाकलाप गर्न खोजिरहेकाले सजग र सचेत रहन उहाँले सबैमा आग्रह गर्नुभयो । 

जनताद्वारा बनाइएको संविधानलाई उल्टाउन खोज्नेलाई जनताले मुहतोड जवाफ दिने उहाँले बताउनुभयो । विगतका आन्दोलनमा मधेशी जनताको निर्णायक भूमिका रहेको चर्चा गर्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ पार्न आन्दोलनको आवश्यकता परेमा तयार रहन उहाँले सबैमा आग्रह गर्नुभयो ।

उहाँले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा काँग्रेसलाई बहुमत ल्याउन अहिले देखिनै तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । काँग्रेस धनुषा क्षेत्र ३ का क्षेत्रीय सभापति श्याम निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पञ्जियार, उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति थियो ।